चक्कु प्रहारबाट युवकको हत्या ः ६ जना पक्राउ, पाँच दिनको म्याद थप

रञ्जन यादब /बारा ०४ असोज

जीतपुरसिमरा उपमहानगरपालिका–२ मा भएको चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

शनिबार साँझ सम्झना स्टाफ होटलमा भएको घटनामा जीतपुरसिमरा–२ का ३५ वर्षीय धिरज भनिने शेरबहादुर खड्काको मृत्यु भएको हो। प्रहरीका अनुसार खड्कामाथि धारिलो चक्कु प्रहार गर्ने मुख्य आरोपित जीतपुरसिमरा–१६ का २२ वर्षीय आयुश राई हुन्।

घटनापछि प्रहरीले राईसहित जीतपुरसिमरा–१६ की ४३ वर्षीया शान्ति राई, ४० वर्षीया सिता थापा मगर, जीतपुरसिमरा–२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, २३ वर्षीय रत्न पाख्रिन तामाङ र पर्साको ठोरी घर भई जीतपुरसिमरा–२ बस्ने ३४ वर्षीया विन्दु तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले पक्राउ परेका सबै जनामाथि घटनाको अनुसन्धानका लागि बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिनको म्याद थप गरेको छ। उनीहरूमाथि घटनामा संलग्नताको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीका अनुसार होटलमा बसिरहेका खड्कालाई राईले चक्कुले घाँटीमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटना लगत्तै फरार भएका राईलाई प्रहरीले जीतपुरसिमरा–१६ स्थित स्थानीयको धान खेतबाट करिब पाँच घण्टापछि पक्राउ गरेको थियो। घटनाको कारण र अन्य पक्राउ परेकाहरूको भूमिकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।