रञ्जन यादब /बारा ०२ जेठ
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले नेपाल–भारत सीमामा अत्यधिक नियन्त्रण र कडाइको नीति लागू गरिए मधेस प्रदेशमा व्यापक असन्तुष्टि र प्रतिरोधको अवस्था सिर्जना हुन सक्ने बताएका छन्।
मधेस मिडिया काउन्सिलले मंगलबार कलैयामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सोनलले नेपाल–भारत सीमा केवल दुई मुलुकबीचको राजनीतिक तथा प्रशासनिक विभाजनको रेखा भए पनि सीमावर्ती क्षेत्रका जनताबीचको सम्बन्ध शताब्दीयौँ पुरानो रहेको उल्लेख गरे। उनले सीमापार रहेका परिवार, संस्कार, संस्कृति, भाषा तथा व्यापारिक सम्बन्धले मधेसको जीवनशैलीसँग गहिरो सम्बन्ध राख्ने बताए।उनले सीमा सुरक्षा र व्यवस्थापन प्रत्येक राष्ट्रको अधिकार र आवश्यकता भए पनि त्यसको नाममा नागरिकको दैनिक जीवनलाई कठिन बनाउने निर्णय उचित नहुने धारणा राखे। “सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको आर्थिक, सामाजिक र पारिवारिक जीवन सीमासँग प्रत्यक्ष जोडिएको छ। त्यसैले यस्ता विषयमा निर्णय गर्दा स्थानीय जनताको भावना र आवश्यकता बुझ्नुपर्छ,” उनले भने।सोनलले हालै सीमा नाकाबाट निश्चित मूल्यभन्दा बढीका सामान ल्याउन लगाइएको प्रतिबन्धप्रति आपत्ति जनाउँदै यस्ता निर्णयले साना व्यापारी, श्रमिक तथा सीमावर्ती नागरिकलाई प्रत्यक्ष असर पर्ने बताए। उनले सरकारका यस्ता नीतिहरू व्यवहारिक नभएको टिप्पणी गर्दै जनताको जीवनसँग गाँसिएका विषयमा पुनर्विचार गर्न आग्रह गरे।

कार्यक्रममा उनले लोकतान्त्रिक शासन प्रणालीमा जनताको मतादेश सर्वोपरि हुने उल्लेख गर्दै राज्यका निकायहरूले संविधान र कानुनको मर्मअनुसार काम गर्नुपर्ने बताए। उनले संवैधानिक निकायहरूको स्वतन्त्रता र निष्पक्षता कायम रहनुपर्नेमा जोड दिँदै पछिल्ला केही गतिविधिले ती संस्थामाथि प्रश्न उठ्न थालेको दाबी गरे।निर्वाचन आयोगलगायत संवैधानिक निकायका पदाधिकारीहरूले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर राजनीतिक प्रकृतिका अभिव्यक्ति दिन नहुने उनको भनाइ थियो। यस्ता गतिविधिले लोकतान्त्रिक संस्थाप्रतिको जनविश्वास कमजोर हुन सक्ने उनले बताए।सोनलले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चार क्षेत्र अपरिहार्य रहेको उल्लेख गर्दै सञ्चारमाध्यमलाई प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन सरकारसँग माग गरे। उनले प्रेस स्वतन्त्रताको संरक्षण, पत्रकारिताको विकास र सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको बताए।

कार्यक्रममा सहभागी सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग उनले मधेसको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाबारे समेत धारणा राखेका थिए। उपस्थित बाराका पत्रकारहरुलाई अचारसंहिता तथा समाचार लेखनमा दक्षता बृद्धि गर्ने किसीमको प्रशिक्षण नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्ष धर्मेन्द्र कुमार झाले प्रदान गरेका थिए ।




