भोटेकोशी बाढीपीडितका लागि गणपति घ्यू उद्योगका श्रमिकले दिए एक दिनको तलब

रञ्जन यादब /बारा ०६ असोज

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ स्थित गणपति वनस्पति घ्यू उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीपीडितका लागि आफ्नो एक दिनको पारिश्रमिक सहयोग गरेका छन्।
श्रमिक तथा कर्मचारीबाट संकलित १ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। मंगलबार जीतपुरसिमरा वडा नं.२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको रोहवरमा श्रमिकहरूले उक्त रकम बराबरको चेक कोषमा जम्मा गरेका हुन्।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। बाढी प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उद्योगका श्रमिक तथा कर्मचारीले आफ्नो एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका थिए।

उद्योगका श्रमिक प्रधुमन चौरसियाका अनुसार विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएकाले श्रमिकहरूले आफ्नो पारिश्रमिकबाट एक दिनको रकम छुट्याएर सहयोग गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले श्रमिक तथा कर्मचारीहरूले आफ्नै मेहनतको कमाइबाट विपद् प्रभावित नागरिकका लागि गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता मानवीय सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला गणपति वनस्पति घ्यू उद्योगका श्रमिक तथा कर्मचारीको यो सहयोगले विपद्का बेला श्रमिक वर्गको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई समेत प्रतिबिम्बित गरेको छ।