बारा । जीतपुरसिमरा उद्योग वाणिज्य संघको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। संघका अध्यक्ष मोहन शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उद्योगी, व्यवसायी, सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका नेता, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अधिवेशनको उद्घाटन सत्रमा संघले प्रकाशन गरेको स्मारिकाको विमोचन गरिएको थियो भने अध्यक्ष शर्माद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो। बन्दसत्रमा उद्योग तथा व्यापार क्षेत्रका वर्तमान चुनौती, लगानी प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रका समस्याबारे सहभागीहरूले धारणा राखेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख तथा उपप्रमुख, महासंघका विभिन्न तहका पदाधिकारी, इलाका प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दल, अग्रज उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। संघले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।
त्यसैगरी, स्मारिकामा शुभकामना सन्देश प्रदान गर्ने मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी तथा अन्य शुभेच्छुकहरूप्रति पनि धन्यवाद ज्ञापन गरिएको छ। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ तथा पर्सौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुल्सी गुप्ताको समेत उपस्थिति रहेको थियो।
अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै आगामी नेतृत्व चयनको जिम्मेवारी निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ। निर्वाचन अधिकृत अधिवक्ता शरदचन्द्र भट्टराईका अनुसार असार ७ गते निर्वाचन सम्पन्न गरिने तथा असार ११ गते नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण र पदभार हस्तान्तरण कार्यक्रम आयोजना गरिनेछ। निर्वाचन तालिका समेत सार्वजनिक भइसकेको छ।
समापन समारोहमा अध्यक्ष मोहन शर्माले आफ्नो कार्यकालभर सहयोग पुर्याउने पदाधिकारी, सदस्य, उद्योगी–व्यवसायी तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गर्दै संघको आगामी यात्रामा पनि सबैको साथ र सहयोग आवश्यक रहने बताए। उनले “जय उद्योग, जय व्यापार, जय पर्यटन” नारालाई आत्मसात गर्दै उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकासका लागि संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।




