रञ्जन यादब /बारा २७ जेठ
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सिमरामा ईपीएस प्रक्रिया, कोरियन भाषा परीक्षा तथा दक्षिण कोरियामा रोजगारीका अवसर र चुनौतीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, रोजगार संयोजक, कोरिया गएर फर्किएका श्रमिक, कोरिया जान इच्छुक युवायुवती, कोरियन भाषा प्रशिक्षण केन्द्रका सञ्चालक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरूले ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जाने सम्पूर्ण प्रक्रिया, भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेपछि पनि लामो समयसम्म रोजगारका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था, कोरियामा रहँदा भोग्नुपर्ने चुनौती तथा त्यसका सम्भावित समाधानका विषयमा आफ्ना जिज्ञासा र अनुभव प्रस्तुत गरेका थिए । उठाइएका प्रश्नहरूको जवाफ ईपीएस कोरिया शाखाका निर्देशक अनुप ढकाल र सूचना अधिकारी राजकिशोर साहले दिएका थिए ।
अन्तरक्रियाका क्रममा कोरियाबाट फर्किएकी गीता शर्माले विदेश जानुअघि सीपमूलक तयारीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिन् । उनले कोरियामा सिकेको ज्ञान र सीपलाई नेपालमा उपयोग गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउँदै स्वदेश फर्किएका श्रमिकको अनुभवलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्नुपर्ने सुझाव दिइन् ।त्यस्तै, कोरियामा रोजगारी गरी स्वदेश फर्किएका टिकाजंग थापाले दक्षिण कोरियालाई नेपाली श्रमिकका लागि सुरक्षित र व्यवस्थित गन्तव्यका रूपमा व्याख्या गरे । उनले विदेशमा आर्जित सीप र अनुभवअनुसार नेपालमा रोजगारी तथा उद्यमका अवसर सीमित हुँदा धेरै श्रमिकले समस्या भोग्नुपर्ने अवस्था रहेको बताए ।कार्यक्रममा कोरियन भाषा कक्षा सञ्चालन गर्दै आएका प्रशिक्षक प्रेम पाण्डेले भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका युवाहरूलाई रोजगारका लागि कोरिया पठाउने प्रक्रिया अपेक्षाकृत ढिलो भइरहेको गुनासो गरे ।
उनले रोजगारदाता कम्पनीहरूसँग प्रभावकारी समन्वय गर्दै प्रक्रिया छिटो र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए ।उपप्रमुख भोलाप्रसाद अधिकारीले वैदेशिक रोजगारीका विषयमा सही सूचना प्रवाह गर्न यस्ता अन्तरक्रिया कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले युवाहरूलाई सुरक्षित वैदेशिक रोजगारी, आवश्यक तयारी र अवसरबारे स्पष्ट जानकारी दिन यस्ता कार्यक्रमले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे ।कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र सीपमा आधारित बनाउन सरकारी निकाय, स्थानीय तह तथा सम्बन्धित सरोकारवालाबीच थप समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।




