मधेस ट्राभल मार्ट शुक्रबार देखि सुरु हुने, मधेसका पर्यटकीय गन्तव्यलाई भारतीय बजारसँग जोड्ने लक्ष्य

रञ्जन यादब /बारा २८ जेठ

मधेस प्रदेशको पर्यटन प्रवद्र्धन तथा यहाँका पर्यटकीय गन्तव्य, संस्कृति र स्थानीय परिकारको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि ‘मधेस ट्राभल मार्ट’ सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुने कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशले गरेको छ ।कार्यक्रमबारे जानकारी दिन नाटा मधेस प्रदेशले बिहीबार सिमरामा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

पत्रकार सम्मेलनमा नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेले मधेस प्रदेशका आठवटै जिल्लाका पर्यटकीय क्षेत्र, संस्कृति, धार्मिक स्थल तथा स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने उद्देश्यले ट्राभल मार्ट आयोजना गरिएको जानकारी दिए ।उनका अनुसार नेपाल र भारतका विभिन्न सहरबाट दुई सयभन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, कन्टेन्ट क्रियटर तथा पर्यटक कार्यक्रममा सहभागी हुनेछन् । भारतका पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकातालगायतका सहरबाट पर्यटन व्यवसायीहरू मधेस भ्रमणमा सहभागी हुनेछन् ।अध्यक्ष लामिछानेले भारतीय पर्यटन व्यवसायीहरूलाई मधेसका पर्यटकीय सम्भावनाबारे प्रत्यक्ष जानकारी गराई भारतीय पर्यटकको आगमन वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए । “बारा–पर्सासहित मधेसका आठै जिल्लाका संस्कृति, धार्मिक सम्पदा र पर्यटकीय क्षेत्रलाई भारतीय पर्यटन बजारसँग जोड्ने प्रयासस्वरूप ट्राभल मार्ट आयोजना गरिएको हो,” उनले भने ।चार दिनसम्म सञ्चालन हुने कार्यक्रम नेपाल पर्यटन बोर्ड, स्थानीय तह तथा अन्य साझेदार निकायहरूको सहलगानीमा आयोजना गरिएको हो ।

 

कार्यक्रमको सचिवालय जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको छ भने वीरगञ्ज महानगरपालिका र बर्दिबास नगरपालिकाको समेत सहयोग रहेको आयोजकले जनाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले पर्यटन क्षेत्रको अपार सम्भावनालाई उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले अमलेखगञ्जलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानअन्तर्गत ट्राभल मार्ट आयोजना गरिएको उल्लेख गरे ।त्यसैगरी वडा नम्बर २१ का अध्यक्ष सुवास श्रेष्ठले अमलेखगञ्जमा पर्यटन विकासको ठूलो सम्भावना रहेको बताउँदै पर्यटक आकर्षित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।नाटाले सार्वजनिक गरेको कार्यतालिका अनुसार भारतीय पाहुनाहरू बिहीबार साँझ रक्सौल नाका हुँदै वीरगञ्ज आइपुगेका छन् । शुक्रबार बिहान वीरगञ्जस्थित होटल सरोवरमा कार्यक्रमको औपचारिक उद्घाटन हुनेछ । उद्घाटनअघि सहभागीहरूलाई महागढीमाई मन्दिरको दर्शन गराइनेछ ।

 

उद्घाटनपछि टोली सिमरा पुगेर होटल क्लासिक प्लाजामा पर्यटन प्रवद्र्धनसम्बन्धी छलफल कार्यक्रममा सहभागी हुनेछ । दोस्रो दिन सहभागीहरूलाई अमलेखगञ्जस्थित सिद्धबाबा हाइकिङ रुट तथा पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइने कार्यक्रम रहेको छ ।त्यसपछि टोली बर्दिबासस्थित तुलेश्वर महादेव मन्दिर हुँदै जनकपुरधाम पुग्नेछ । जनकपुरमा मिथिला आर्ट ग्यालरी अवलोकन, जानकी मन्दिर दर्शन तथा गंगा आरतीमा सहभागिता गराइने कार्यक्रम तय गरिएको छ । कार्यक्रमको अन्तिम दिन जनकपुरधामबाट सहभागीहरूलाई बिदाइ गरिनेछ ।मधेस ट्राभल मार्टले मधेस प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सहयोग पुग्नुका साथै भारतीय पर्यटक भित्र्याउने अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाकी पर्यटन प्रबद्र्धन बिकाश अधिकृत सीमा यादव, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष शम्भु खड्गी, उपाध्यक्ष गोविन्द गहतराजलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो ।