कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले भू–सेवा सम्बन्धी अभिमुखीकरण तथा क्षमता विकास तालिम सञ्चालन

रञ्जन यादब/बारा ०९ जेठ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ले आफ्ना कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले भू–सेवा सम्बन्धी अभिमुखीकरण तथा क्षमता विकास तालिम सञ्चालन गरेको छ । सेवाग्राहीलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्यसहित आयोजित उक्त तालिममा उपमहानगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरू तथा विभिन्न वडाका सचिवहरूको समेत सहभागिता रहेको थियो ।
तालिममा भू–सेवासँग सम्बन्धित कानुनी व्यवस्था, अभिलेख व्यवस्थापन, नक्सा तथा जग्गा प्रशासन, डिजिटल प्रणालीमार्फत सेवा प्रवाह, नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उपाय लगायतका विषयमा जानकारी गराइएको थियो । सहभागीहरूलाई व्यवहारिक अभ्याससमेत गराइएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका पदाधिकारीहरूले स्थानीय तहमा प्रविधिमैत्री र पारदर्शी सेवा प्रणाली विकास गर्न यस्ता तालिम प्रभावकारी हुने बताएका छन् । उनीहरूले कर्मचारी तथा वडा सचिवहरूको सीप र दक्षता वृद्धि भएमा सेवाग्राहीले सहज रूपमा गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
तालिमले भू–सेवा सम्बन्धी काममा संलग्न कर्मचारी र वडा सचिवहरूलाई थप दक्ष, जिम्मेवार तथा सेवामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, स्थानीय तहबाट प्रदान गरिने सार्वजनिक सेवामा पारदर्शिता, प्रभावकारिता र एकरूपता कायम गर्न आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिइने उपमहानगरपालिकाले जनाएको छ ।