बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद अब खुला टकरावमा

बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद अब खुला टकरावमा पुगेको छ । शनिबार कलैयाको करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठक एकाएक तनावग्रस्त बनेपछि प्रतिनिधिसभा सदस्यहरू नै बैठक स्थलबाट बाहिरिन बाध्य भएका छन् ।

बैठकमा बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का सांसद चन्दन सिंह, क्षेत्र नम्बर ३ का सांसद अरविन्द साह, क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीसहितका नेताहरूको उपस्थिति रहेको थियो । तर बैठक सुरु भएको केही समयमै कार्यकर्ताबीच चर्को विवाद भएपछि वातावरण असामान्य बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।स्थानीय कार्यकर्ताहरूका अनुसार संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्षलाई कमजोर बनाउने प्रयास गरिएको भन्दै समर्थकहरू आक्रोशित बनेका थिए ।

विवाद बढ्दै जाँदा नाराबाजी, होहल्ला र धकेलाधकेलको अवस्था सिर्जना भएको बताइएको छ । आक्रोशित कार्यकर्ताहरूले केही नेताहरूलाई बैठक हलबाटै बाहिर पठाएका थिए ।स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षा घेरामा राखेर बाहिर निकालेको जानकारी प्राप्त भएको छ । घटनापछि बैठक नै प्रभावित बनेको थियो ।उता, केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता खारेज गरिएको विषयले रास्वपा बारा भित्रको विवाद झन् चुलिएको देखिएको छ । अहिले जिल्लाभित्र पार्टी दुई धारमा विभाजित जस्तै देखिन थालेको स्थानीय नेताहरूको भनाइ छ ।