रञ्जन यादब /बारा १० जेठ
शनिबार साँझ आएको भीषण हावाहुरीपछि प्रभावित बनेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ लगायतका क्षेत्रमा आइतबार नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले स्थलगत निरीक्षण गरेका छन् ।
नगर प्रहरीको टोलीसहित प्रभावित क्षेत्रमा पुगेको टोलीले क्षतिको अवस्था अवलोकन गर्नुका साथै राहत तथा उद्धारका कामलाई तीव्र बनाएको हो । निरीक्षण टोलीमा वडा नं. २२ का वडाध्यक्ष शेखरकाजी रुम्बा तथा वडा नं. २१ का वडाध्यक्ष सुवास श्रेष्ठको समेत सहभागिता रहेको थियो । टोलीले बिरेदमार, मुलखोला, चकरी र नयाँबस्ती क्षेत्रको अवलोकन गर्दै स्थानीयको समस्या बुझेको थियो । हावाहुरीका कारण वडा नं. २२ मा ठूलो क्षति पुगेको छ । स्थानीय जनप्रतिनिधिका अनुसार उक्त क्षेत्रमा ४५ घरमा क्षति पुगेको छ भने सयौं स्थानीय प्रभावित बनेका छन् ।

बिरेदमार गाउँमा मात्रै २६ घरमा क्षति पुगेको जनाइएको छ । कतिपय घर पूर्ण रूपमा भत्किएका छन् भने धेरै घरका छाना उडेको अवस्था छ ।हुरीसँगै ढलेका ठूला रुखका कारण विभिन्न सडक अवरुद्ध बनेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरी दिनरात नभनी सडक खुलाउने काममा खटिएको छ । नगर प्रहरीको सक्रियतामा अवरुद्ध सडकहरू क्रमशः सञ्चालनमा ल्याइएको छ । जोखिमपूर्ण अवस्थामा समेत नगर प्रहरीले निरन्तर काम गर्दै स्थानीयको आवतजावत सहज बनाउने प्रयास गरिरहेको स्थानीयले बताएका छन् । यस्तै, विद्युत सेवा अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा प्रभावित क्षेत्रका बासिन्दा थप समस्यामा परेका छन् । स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरेर विद्युत सेवा पुनःस्थापनाको काम भइरहेको जनाएको छ ।




