रञ्जन यादब /बारा १७ बैशाख
बाराको कलैयास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख राजेन्द्र साह चार महिनादेखि सम्पर्कविहीन भएपछि कार्यालयको आर्थिक तथा प्रशासनिक कामकाज प्रभावित भएको छ ।साह संघीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा सरुवा भए पनि हालसम्म रमाना पत्र नबुझी कार्यालयबाट सम्पर्कविहीन रहेका छन् । उहाँले सम्बन्धित कार्यालय, तालुक मन्त्रालय तथा स्थानीय प्रशासनलाई समेत कुनै जानकारी नगराई अनुपस्थित भएपछि कार्यालयको नियमित काम अलपत्र परेको हो ।पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी आरती चौधरीका अनुसार कार्यालय प्रमुख कहाँ र कुन प्रयोजनका लागि गएको भन्नेबारे कार्यालयमा कसैलाई जानकारी छैन । उहाँले प्रयोग गर्दै आएको कार्यालयको मोबाइल नम्बरसमेत लामो समयदेखि बन्द रहेको बताइएको छ ।
कार्यालय प्रमुखको अनुपस्थितिका कारण चालु आर्थिक वर्षका एक अर्ब ३८ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरका ३ सय ७८ वटा योजना प्रभावित भएका छन् । जिल्लाका १६ पालिकामा रहेका यी योजनामध्ये १० लाखसम्मका १६ वटा, १० देखि २५ लाखसम्मका २ सय ४४ वटा, २५ देखि ५० लाखसम्मका ८६ वटा तथा ५० लाखभन्दा माथिका ३२ वटा योजना रहेका छन् ।कार्यालयका अनुसार वैशाख दोस्रो साता बितिसक्दा पनि कुनै उपभोक्ता समिति गठन भएको छैन भने टेन्डरको सार्वजनिक सूचना समेत जारी हुन सकेको छैन ।
यसले चालु वर्षमा धेरै योजना कार्यान्वयन हुन नसक्ने अवस्था देखिएको छ ।इन्जिनियर चौधरीले ५० लाखभन्दा माथिका ३२ वटा बहुवर्षीय योजनामा भुक्तानीमा समस्या भए पनि काम पूर्ण रूपमा नरोकेको जानकारी दिनुभयो ।यसअघि पनि प्रमुख साह विवादमा परेका थिए । गत वर्ष मदन भण्डारी आवास निर्माण तथा निधि निवास कार्यक्रमअन्तर्गत १४ करोड रुपैयाँ हिनामिनाको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । पछि अदालतबाट सफाइ पाएपछि उहाँ पुनः सोही कार्यालयमा फर्किएका थिए ।

