रञ्जन यादब /बारा १८ बैशाख
नेपाल अपाङ्ग सेवा संघ बारा शाखाको ८औँ अधिवेशन तथा २४औँ साधारणसभा भव्य रूपमा सिमरामा सम्पन्न भएको छ । संघको सभाहलमा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गरेका थिए।उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले विगतको तुलनामा अहिले अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण सकारात्मक बन्दै गएको बताए। उनले राज्यले पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आत्मनिर्भरता सुनिश्चित गर्न विभिन्न नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे। उनले स्थानीय तहले समेत अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर विभिन्न सहयोग तथा सशक्तिकरणका कार्यक्रम अघि बढाइरहेको बताए।

कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा ल्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले संघले विगतदेखि नै शिक्षा, सीप विकास, सामाजिक न्याय तथा अधिकार सुनिश्चितताका लागि निरन्तर काम गर्दै आएको जानकारी दिए। उनले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न लागिरहने बताए ।

साधारणसभाले आर्थिक तथा प्रगति प्रतिवेदन समेत पारित गरेको थियो। कार्यक्रममा जिल्लाभरिका सदस्य, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

त्यसैगरी, आजै सम्पन्न अधिवेशनले शोभा लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा सुनिल यादव, सचिवमा रमेश बिडारी, सहसचिवमा चन्दा कुमारी साह तथा कोषाध्यक्षमा शंकर प्रसाद दाहाल चयन भएका छन्।त्यस्तै सदस्यहरूमा प्रमोद प्रसाद राय, गोदावरी कुमारी साह, उद्धव घिमिरे, रमेश लामिछाने लगायत चयन भएका छन्।

नयाँ कार्यसमितिले अपाङ्गता भएका व्यक्तिहरूको हक, हित, संरक्षण तथा सशक्तिकरणका क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने विश्वास व्यक्त गरिएको छ।निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन जय प्रकाश रायको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिका अन्य सदस्यहरूमा सीताराम पराजुली, रञ्जन यादव, शुकदेव सिम्खडा तथा शुशीला गौतम रहेका थिए।कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। नव निर्वाचित कायृसमितीको पदावधि ३ बर्षको हुने छ । कार्यसमिती बैठकले दुई जना थप सदस्य मनोनित गर्न सक्ने प्रावधान रहेको छ ।

