जितपुरसिमरामा लागुऔषध, साइबर अपराध तथा आत्महत्या विरुद्ध २ दिने सचेतना कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा १७ बैशाख

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ र १९ मा लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा आत्महत्या न्यूनीकरणसम्बन्धी २ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा, लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्य तथा इलाका प्रहरी कार्यालय सिमरा, बारा र यश नेपालको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।समाजमा बढ्दो लागुऔषध प्रयोग, अनलाइन ठगी, साइबर दुव्र्यवहार तथा मानसिक तनावका कारण आत्महत्याका घटनामा वृद्धि भइरहेका बेला स्थानीय समुदायलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लुमन्तीको समाजिक परिचालक रबि तिबारीले जानकारी दिए ।कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमरा र उसका मातहतमा रहेका ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी प्रतिनिधिले प्रशिक्षण दिएका थिए ।

लागुऔषधको दुष्परिणाम, यसको कानुनी पक्ष, किशोर–किशोरीमा देखिने असर तथा यसबाट बच्ने उपायबारे जानकारी गराएका थिए। साथै साइबर अपराध अन्तर्गत सामाजिक सञ्जालमार्फत हुने ठगी, फेक आईडी, अनलाइन ब्ल्याकमेल, बैंकिङ फ्रड लगायतका विषयमा समेत विस्तृत जानकारी दिइएको थियो।

यश नेपालका प्रतिनिधिहरूले मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, पारिवारिक संवादको महत्व तथा आत्महत्या रोकथामका उपायबारे सहजीकरण गरेका थिए। उनीहरूले समस्या लुकाएर बस्नुभन्दा परिवार, साथीभाइ वा सम्बन्धित निकायसँग खुला रूपमा संवाद गर्नुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा वडा नं. ९ र १९ का जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, महिला समूह, युवा क्लब तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र युवापुस्तालाई गलत बाटोमा जानबाट रोक्न सहयोग पुग्ने बताएका छन्। स्थानीय तहले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।