रञ्जन यादव/बारा २७ चैत
तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिताको उपाधि सर्लाही जिल्ला क्रिकेट संघले रोमाञ्चक शैलीमा आफ्नो नाममा लेखाएको छ। औराहा स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा सर्लाहीले भरतपुर क्रिकेट एकेडेमी (चितवन)लाई एक रनले पराजित गर्दै उपाधि जितेको हो।१६१ रनको लक्ष्य पछ्याएको चितवन अन्तिम ओभरसम्म खेलमा रहे पनि निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनमै सीमित भयो। जितका लागि अन्तिम ६ बलमा १२ रन आवश्यक रहेको अवस्थामा चितवनले १० रन मात्र जोड्न सकेपछि खेल सर्लाहीको पक्षमा गयो।चितवनका प्रतिक श्रेष्ठले ४७ रनको संघर्षपूर्ण इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ३७ बलमा चार छक्का र एक चौका प्रहार गरे।

रोहन झाले ४३ रन बनाउँदै उत्कृष्ट साथ दिए भने रिजन काफ्ले ले ३१ र आर्या महतो ले १६ रन पनि योगदान गरे। सर्लाहीका राहुल महतोले दुई विकेट लिए भने चक्रधार यादव र अभय यादवले समान एक–एक विकेट हात पारे।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्लाहीले पाँच विकेट गुमाएर १६० रन बनाएको थियो। अली हसनले ४८ बलमा दुई छक्का र पाँच चौकासहित ५३ रन बनाउँदै टोलीको स्कोर उकासे। जितेश मण्डलले १४ बलमा ३८ रनको विस्फोटक इनिङ खेले भने आरिफ राजा २८ र परिमार्जन यादवले २० रनको महत्वपूर्ण योगदान दिए।चितवनका दिपेश श्रेष्ठले दुई विकेट लिए भने सुमित अर्याल, प्रतिक श्रेष्ठ र सुमित शर्माले एक–एक विकेट लिए।उपाधि विजेता सर्लाहीले दुई लाख रुपैयाँ नगद प्राप्त ग¥यो भने उपविजेता चितवनले एक लाख रुपैयाँमा चित्त बुझायो। सर्लाहीका अली हसन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।
उनले फाइनलको ‘प्लेयर अफ दि म्याच’ बन्दै १५ हजार रुपैयाँ समेत हात पारे।प्रतियोगिताको उत्कृष्ट ब्याटर बारा जिल्ला क्रिकेट संघका साहिल पटेल घोषित भए भने उत्कृष्ट बलरको उपाधि जितेश मण्डलले जिते। विधागततर्फ उत्कृष्ट खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए।समापन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, शिक्षा महाशाखा प्रमुख शिवजी प्रसाद, जनकपुर बोल्ट्सका प्रतिनिधि महेश सिग्देल लगायतले विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरेका थिए।चैत २१ गतेदेखि सुरु भएको प्रतियोगितामा बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताले नगर क्षेत्रमा क्रिकेट गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

