पोतामा जारी नकआउट भलिबल प्रतियोगितामा दोस्रो दिन तीन वटा खेल सम्पन्न

रञ्जन यादब /बारा २७ चैत्र

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ पोतामा जारी पाँचौं संस्करणको पुरुष खुला नकआउट भलिबल प्रतियोगितामा दोस्रो दिन तीन वटा खेल सम्पन्न भएका छन्। सगरमाथा युवा समाज क्लबको आयोजनामा भइरहेको प्रतियोगिता वडा कार्यालयको खेल मैदानमा सञ्चालन भइरहेको हो। दोस्रो दिनको पहिलो खेलमा बारा थस्कौल र महोत्तरीबीच प्रतिस्पर्धा भएको थियो।

उक्त खेलमा महोत्तरी टोलीले सशक्त प्रदर्शन गर्दै जित निकाल्न सफल भयो। त्यसैगरी दोस्रो खेलमा आयोजक सगरमाथा क्लब र बारा मिलन चोकबीच प्रतिस्पर्धा हुँदा आयोजक टोली विजयी बन्यो।यसैबीच, मकवानपुर र सर्लाहीबीच तय गरिएको तेस्रो खेल भने मकवानपुर टोली अनुपस्थित भएपछि हुन सकेन। टोली उपस्थित नभएपछि सर्लाहीलाई स्वतः विजेता घोषित गरिएको आयोजकले जनाएको छ।प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगदसहित सम्मानित हुनेछ। स्थानीय स्तरमा खेलकुदको प्रवद्र्धन गर्दै युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।