संस्थागत(निजी) विद्यालयलाई पाठ्यपुस्तक परिवर्तन नगर्न उपमहानगरपालिकाको कडा निर्देशन

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरुलाई हरेक वर्ष मनपरी ढंगले पाठ्यपुस्तक परिवर्तन नगर्न कडा निर्देशन दिएको छ । उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट जारी गरिएको पत्रमार्फत यस्तो निर्देशन दिइएको हो ।कार्यालयका अनुसार पछिल्ला वर्षहरुमा विद्यालयहरुले बारम्बार पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरुमा अनावश्यक आर्थिक भार थपिएको भन्दै गुनासो बढ्दै गएको छ ।

विशेषगरी एउटै विषयका पुस्तकहरु वर्षेनी परिवर्तन गर्दा पुराना पुस्तक पुनः प्रयोग गर्न नपाइने अवस्था सिर्जना भएको र यसले मध्यम तथा न्यून आय भएका परिवारलाई थप समस्या बनाउँदै गरेको गुनासो प्रत्येक बर्ष अभिभावकहरुबाट आउँने गथ्र्यो ।सोही समस्यालाई मध्यनजर गर्दै नगर प्रमुख राजन पौडेलको प्रत्यक्ष निर्देशनमा अब उपमहानगरपालिकाको पूर्व स्वीकृति बिना कुनै पनि संस्थागत विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारेको छ । यदि पाठ्यक्रम परिवर्तन वा अन्य आवश्यक कारणले पुस्तक परिवर्तन गर्नुपर्ने अवस्था आएमा त्यसको ठोस आधार र कारण सहित उपमहानगरपालिकाबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

उपमहानगरपालिकाले यस निर्देशनको कार्यान्वयनका लागि शिक्षा महाशाखामार्फत नियमित अनुगमनलाई समेत प्रभावकारी बनाउने जनाएको छ । अनुगमनका क्रममा निर्देशन उल्लंघन गरेको पाइएमा सम्बन्धित विद्यालयलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।उपमहानगरपालिकाले जारी गरेको यस निर्देशनले अभिभावकहरुको आर्थिक भार कम गर्नुका साथै शैक्षिक क्षेत्रमा हुने अनावश्यक खर्च नियन्त्रण, एकरूपता कायम गर्ने तथा शिक्षाको गुणस्तर सुधार गर्नमा मदत पुग्ने बिश्वास जीतपुरका एक अभिभावक संजय यादबले ब्यक्त गरे ।