रञ्जन यादब/बारा
शिव पुराण महायज्ञ समितीले आैराहामा आयोजना गरेको महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरेको छ। समितिका सचिव नवीन खड्काका अनुसार जीतपुरसिमरा -४ अाैराहामा आयाेजना गरिएकाे महायज्ञमा दाताहरूबाट जम्मा २१ लाख ८० हजार ३ सय ४९ रुपैयाँ संकलन भएकोमा १२ लाख ३४ हजार ४ सय २८ रुपैयाँ खर्च भएको छ।
महायज्ञबाट ९ लाख ४५ हजार ९ सय २१ रुपैयाँ बचत भएको जनाइएको छ भने उठ्न बाँकी रकम १ लाख १३ हजार रुपैयाँ रहेको छ। साथै जिन्सी सहयोगतर्फ करिब २६ हजार रुपैयाँ बराबरको सोफा, ३४ हजार रुपैयाँ बराबरको रंग–पेन्ट तथा पोडियम प्राप्त भएको समितिले जनाएको छ।

उक्त शिव पुराण महायज्ञ माघ २६ गतेदेखि सुरु भई फागुन ७ गतेसम्म ११ दिनसम्म सञ्चालन गरिएको थियो। धार्मिक अनुष्ठानका क्रममा दैनिक पूजाआजा, कथा वाचन, भजन–किर्तन लगायतका कार्यक्रमहरू सम्पन्न भएका थिए, जसमा स्थानीय भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजकका अनुसार धर्म, संस्कृति, आस्था र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै समाजमा नैतिक मूल्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो। विशेषगरी युवा पुस्तालाई धर्म, संस्कार र सामाजिक उत्तरदायित्वप्रति जागरूक बनाउने लक्ष्य राखिएको थियो।
महायज्ञ समितिका अध्यक्ष भुव प्रसाद ढकालले संकलित रकमलाई दीर्घकालीन सामाजिक तथा धार्मिक कार्यमा उपयोग गरिने जानकारी दिएका छन्। उनका अनुसार बचत रकमबाट धर्मशाला निर्माण, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन, नियमित भजन–किर्तन व्यवस्थापन तथा अक्षयकोष स्थापना गरी धार्मिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिने योजना रहेको छ।
समितिले आय–व्यय सार्वजनिक गर्दै पारदर्शिता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्वयंसेवक तथा स्थानीयवासीप्रति धन्यवाद ज्ञापन गरिएको छ।
