रञ्जन यादब /बारा
बारामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यसैबीच नेपाली कांग्रेस थप बलियो बन्दै गएको दाबी गरिएको छ ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी ५ हजार ५ सय ४२ मत ल्याउँदै तेस्रो स्थान हासिल गर्न सफल भएका ईच्छा बहादुर वाग्ले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
उहाँको प्रवेशसँगै क्षेत्र नं. ४ मा कांग्रेसको संगठनात्मक अवस्था थप सुदृढ हुने विश्वास गरिएको छ ।एक कार्यक्रमका बीच पार्टी प्रवेश गराइएका वाग्लेलाई कांग्रेसका स्थानीय नेताहरूले स्वागत गर्दै उहाँको अनुभव र जनाधारले पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने बताएका छन् । वाग्लेले भने आफू विकास, स्थायित्व र लोकतान्त्रिक मूल्य–मान्यताका लागि कांग्रेसमा आवद्ध भएको बताउनुभएको छ ।बारा क्षेत्र नं. ४ मा यसअघि नै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल, राष्ट्र निर्माण दल नेपाल, नेपाल समुन्नत पार्टी लगायतका दलहरूले आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन् ।
उम्मेदवारहरूको सक्रियता बढेसँगै चुनावी माहोल तातेको छ ।स्थानीय तहदेखि संघीय निर्वाचनसम्म प्रभाव पार्ने यस क्षेत्रलाई राजनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । विभिन्न दलहरू घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदाता समक्ष आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् ।यसैबीच स्वतन्त्र रूपमा राम्रो मत ल्याउन सफल नेताको कांग्रेस प्रवेशले आगामी निर्वाचनमा समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

