रञ्जन यादब /बारा
साना किसान कृषि सहकारी संस्था लिमिटेड, डुमरबानाको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–१४ अन्तर्गत मौलापुरमा सम्पन्न साधारण सभामा संस्थाकी ८२ वर्षीया जेष्ठ महिला शेयर सदस्य चन्द्रकली रिजाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

साधारण सभामा प्रस्तुत विवरणअनुसार संस्थाले ८ हजारभन्दा बढी शेयर सदस्यहरूबाट १० करोड ७८ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको छ। यस्तै, १ अर्ब ४३ करोड रुपैयाँ बचत संकलन गरी १ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेको संस्थाले चालु आर्थिक वर्षमा करिब १ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ।आर्थिक वर्ष २०८१÷०८२ मा संस्थाले ४२ लाख १३ हजार ८ सय ५९ रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा भने संस्थाले ४ करोड ३८ लाख २२ हजार ५ सय ४५ रुपैयाँ नाफा कमाएको थियो।

नाफा घट्नुको कारण स्पष्ट पार्दै संस्थाका अध्यक्ष प्रदीप सिंह बरालले सहकारी ऐन तथा मापदण्ड संशोधन, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी विभागद्वारा २०८२ असार ३२ गते जारी गरिएको निर्देशनका कारण भाखा नाघेका ऋणमा थप जोखिम व्यवस्थापन गर्नुपर्ने बाध्यताले आम्दानीको ठूलो हिस्सा जोखिम कोषमा राख्नुपरेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाको आम्दानी अघिल्लो वर्षसरह नै रहे पनि नियामक प्रावधानका कारण नाफा कम देखिएको हो।कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य सुकुमाया वाइबाले व्यक्त गर्नुभएको थियो।

सो अवसरमा डुमरबाना सेवा केन्द्रका ७५ वर्षीया जेष्ठ पुरुष शेयर सदस्य नन्दलाल जमकटेल र ८२ वर्षीया जेष्ठ महिला शेयर सदस्य चन्द्रकली रिजाललाई सम्मान गरिएको थियो।साथै, व्यवसायिक पशुपालन (दुग्धजन्य तथा मासुजन्य), फलफूल तथा तरकारी खेती, उत्कृष्ट बचत तथा ऋण कारोबार, घरेलु उद्योग–व्यापार, अन्तर समूह तथा उत्कृष्ट समूहलाई पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रमको सञ्चालन संस्थाका वरिष्ठ प्रबन्धक राजेन्द्र प्रसाद जमकटेलले गर्नुभएको थियो।


