रञ्जन यादब /बारा
बारा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघ ले बाराको जितपुर बजार क्षेत्रमा बढ्दै गएको सडक अतिक्रमण, व्यवसायीमाथि भएको दुव्र्यवहार र संघको आगामी अधिवेशनका सम्बन्धमा आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।
संघका अध्यक्ष मोहन शर्मा लामिछानेले एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सञ्चार माध्यममा आएका समाचार र बजार क्षेत्रमा घटेका घटनाहरूप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ।विज्ञप्तिमा उल्लेख भए अनुसार, वीरगञ्ज–पथलैया व्यापारिक मार्गअन्तर्गत जितपुर बजारको सडक क्षेत्र खाली गराउने विषयमा विगतमा प्रशासन र स्थानीय सरकारसँग पटक–पटक सहमति भएको थियो। चाडपर्वका समयमा व्यावसायिक सहजताका लागि केही खुकुलो पारिएको भए तापनि त्यसको फाइदा उठाई पुनः सडक मिच्ने कार्यप्रति संघले असन्तुष्टि पोखेको छ।
सडक विभागको क्षेत्राधिकारभित्र पर्ने यस्ता अतिक्रमण हटाउने दायित्व सम्बन्धित निकायको भएको स्पष्ट पार्दै संघले यसबाट सिर्जना हुने कुनै पनि परिस्थितिको जिम्मेवारी आफूले नलिने घोषणा गरेको छ। साथै, पथलैया–वीरगञ्ज खण्डका सबै क्षेत्रमा सडक र फुटपाथ व्यवस्थापनका लागि समान नीति र व्यवहार अपनाउन समेत सरोकारवालासँग माग गरिएको छ। यसैगरी, जितपुर बजारमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थितिलाई समाधान गर्न स्थानीय सरकारलाई आग्रह गर्दै संघले व्यवसायीहरूको सुरक्षाको मुद्दा उठाएको छ। संघका सदस्य व्यवसायीहरू शान्तिकुमारी बजगाईं (रिना बजगाईं) र सेराजुल हकमाथि भएको दुव्र्यवहारको घटनालाई घोर भत्र्सना गर्दै संघले शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न पाउने हक सुनिश्चित गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ।
संघको आन्तरिक व्यवस्थापन र आगामी साधारणसभाका सम्बन्धमा प्रस्ट पार्दै अध्यक्ष लामिछानेले देशको असहज परिस्थिति र गत भदौमा भएको आन्दोलनका कारण निर्धारित समयमा अधिवेशन हुन नसकेको जानकारी दिनुभएको छ। संघका कतिपय पदाधिकारीहरूबाट भएका गैर–जिम्मेवार क्रियाकलापको संस्थाले अपनत्व नलिने बताउँदै उहाँले हाल पौष मसान्तको व्यस्तता सकिएलगत्तै बैठक बसेर अधिवेशनको नयाँ मिति तोकिने जानकारी दिनुभयो। वर्तमान कार्यसमिति नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर रहेको भन्दै संघले सबै सरोकारवालालाई सहयोगका लागि अपिल गरेको छ।

