रञ्जन यादब /बारा
जीतपुरसिमरा उप महानगरपालिकाले फतेपुरमा रहेको अबैध संरचनामाथि डोजर चलाएको छ । शनिबार बिहान उप महानगरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१२ स्थित फत्तेपुरमा डोजर चलाएको हो । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नुपर्ने भएकाले उपमहानगरपालिकाले अबैध रुपले कब्जा गरि बनाईएको संरचनाहरु उपमहानगरपालिकाले हटाएको हो । यसअघि नै ७ दिने सूचना निकालेर वडाभित्रका अनधिकृत र अवैध संरचनाहरू हटाउने अनुरोध गरे पनि अटेर गरेकाले बलपूर्वक डोजर लगाएर भत्काउन थालिएको १२ नम्बर वडाका वडा अध्यक्ष श्यामबाबु खाँले जानकारी दिनुभयो ।
।साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ । सो १८ कठा सार्वजनिक जग्गा मध्ये ६ कठा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कठा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेको छ ।सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्ने गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो तर सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भएको थियो ।
उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निमार्ण गर्न ९० लाख बजेट विनियोजन गरेको छ ।उपमहानगरले पटक पटक सुचना निकालेर सार्वजनिक जग्गामा बनाएको टहरा हटाउन भने पनि स्थानीयहरुले अटेर गर्दै आएका थिए । यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरको गौशालामा बनाईएको अबैध संरचना हटाएको थियो । उपमहानगरपालिकाभित्र धेरै सार्वजनिक जग्गा जमिन मिचिएको पटक–पटक आवाज उठ्ने गरेको छ।
धारा, कुवा र सार्वजनिक चौतारो र धर्मशालाहरू तथा सार्बजनिक जग्गाहरु मिचेर मानिसहरूले घरघडेरी बिक्री वितरण र बनाउने गरेको आवाज उठ्ने गरेको छ । नगर प्रमुख राजन पौडेल आफैँ मैदानमा खटिएर डोजर चलाउन लगाएपछि धेरैले प्रशंसा गरेका छन्। उपमहानगरपालिकाले सरकारी जग्गाहरूको संरक्षण गर्नुपर्नेमा बुद्धिजीवीहरूले सुझाब दिएका छन्। स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरी समृद्ध नगरपालिका बनाउने काममा अग्रसर हुनुपर्ने उनीहरूको भनाइ छ।