बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध अन्तरक्रिया

बाराको जीतपुरमा विभेदपूर्ण लिङ्ग छनोट गरी गर्भपतन गराउँने बिरुद्ध एक दिने प्रचारप्रसार तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय बारा ,कलैयाको आयोजनामा भएको कार्यक्रमको समन्वय जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले गरेको थियो ।अभिमुखिकरण कार्यक्रममा सहभागी चिकित्स तथा स्वास्थ्यकर्मिहरुले अझै पनि छोरी जन्मँदा गर्व गर्ने अवस्था नबनेको बताएका छन् । बिभिन्न आधुनिक प्रबिधिले झन् लिङ्गको पहिचान गरेर छोरा भए जन्म दिने र छोरी भएमा भ्रुणहत्या गर्ने अपराध बढेको उनीहरूले जनाएका छन्।

कार्यक्रममा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले बिभिन्न अध्ययन तथा गणनाले महिलाको भन्दा पुरुषको जनसङ्ख्या बढिरहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । गर्भवती महिलामध्ये अधिकाँशले गर्भावस्थामा अल्ट्रासाउन्ड गराउने र लिङ्ग पहिचान गरी छोरी भए गर्भपतन गर्ने अपराध नरोकिएको बताएका थिए ।अहिले छोरीको भन्दा छोराको सङ्ख्या बढदै जानुको एक मुख्य कारकतत्व यो पनि भएको बताएका थिए । महिलाको चाहनाभन्दा पनि पुरुष प्रधान समाज,पितृसतात्मक सोच, अंश र वंशका लागि छोरा नै चाहिने गलत मानसिकताको परिणाम यस्तो हुन गएको जनस्वास्थ्य शाखा प्रमुख भाष्करले जानकारी दिनुभयो ।

लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई एक वर्षसम्म कैद र रु १० हजार जरिवाना देखि ५ बर्ष सम्म कैद र ५० हजार रुपैया सम्मको जरिवानाको सजायको व्यवस्था कानुनमा रहेको छ। तर, कानून भएर पनि यस्तो अपराध गर्ने वा गराउनेलाई पहिचान गरी कारबाही गर्न नसकिएको कतिपयको गुनासो छ ।

छोरीको मात्र गर्भपतन महिलासँग मात्र नभई समाजसँग गाँसिएको विषय भएको एक स्वास्थ्यकर्मि सबिना क्षेत्रीले बताईन् । छोरा र छोरी दुबै सन्तान बराबर हुन् । तर वृद्धावस्थामा आफूलाई सन्तानले हेर्नुपर्ने वा स्याहार्नुपर्ने बेला छोरी विवाह भएर अर्काको घर गइसक्ने हुनाले छोरा चाहिने सोच समाजमा छ । त्यसैले समाजमा छोराले बढी महत्त्व पाएको उनले जानकारी दिईन् ।

त्यस्तै अर्कि स्वास्थ्यकर्मि सोनि कुमार पासवानले धेरै महिलाका लागि छोराको चाहना सामाजिक बाध्यता बनेको बताईन् । आमाबाबुको माया छोरामा जत्तिकै छोरीमा पनि नहुने होइन । तर हाम्रो सामाजिक व्यवहार र सांस्कृतिक प्रचलनले सन्तानका रूपमा छोरा नै चाहिने मान्यतालाई पक्षपोषण गरिरहेको बताईन् । यता वैवाहिक संस्कार र सामाजिक परम्परामै परिवर्तन नल्याई छोराछोरी समान हुन् भनेर बताईरहँदा पनि ब्यवहारमा समानता नआएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय बाराका अधिकृत भागिरथ चौधरीले गरेका थिए ।