विराटनगर, असोज १७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका हुन् ।
उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब १५ सिट बढाउँछौ । एमाले मध्यावधिमा जान डराउँदैन । तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन ।’
ओलीले देशमा काँग्रेसको बोल्ने हविगत नै नभएको पनि बताए । ‘देशमा काँग्रेस कहाँ छ । घोच्दा दुख्छ दुख्दैन भनेर काँग्रेसका नेताहरूलाई सोध्नु उ बोल्दैन । बिचरा काँग्रेसका नेताहरू । राजनीतिक गर्ने पार्टीले बोल्नु पर्थ्यो । तर उ बोल्दैन । बोल्ने हविगत पनि छैन । अब कांग्रेस बोल्न सक्दैन’ उनले भने ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको पनि बताए । ‘उहाँ सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैन,’ ओलीले भने ।