तीर्थयात्री बोकेको बस बाराको चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ घाइते

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नदिकै तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छद। दुर्घटनामा एक जना नेपाली सहित ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

२६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट करिब १५ मिटर दक्षिण तर्फको खोलामा खसेको थियो । दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुष रहेको छन् । दुर्घटनामा घाइते १७ जनाको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपाने जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मिरादेवी, बैजन्तीदेवी, श्रीकान्त चतुर्वेदी, राजेन्द्र चतुर्वेदी, सत्यवती र महोत्तरी लोहारपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन् ।

दुर्घटनामा घाईते हुनेहरुमा तीन जना नेपाली सहित १४ भारतीय रहेका छन । घाईते नेपालीहरुमा महोत्तरी जलेश्वर नगरपालिकाका ३८ बर्षिय बिहारी मुखीया, महोत्तरी लोहारपति ५ बस्ने बर्ष २६ को जसबेन्दर पासवान र धनुषा मौवा १८ जनकपुर बस्ने ४१ बर्षिय घुरन मण्डल रहेका छन ।

त्यसैगरी घाईते भारतीयहरुमा भारत राजस्थान बस्ने ५३ व्रषीय माया देबी, ४८ को घनश्याम चतुरबेदी, ३५ को अनिल कुमार, ५० वर्षको तारावती चतुरबेदी, निजकै नातिनि बर्ष ९ की क्रितिका चतुरबेदी , ४८ वर्षको श्याम लाल माली, बर्ष ४७ को हरवारी माली, बर्ष ७० की चौथी देबी, बर्ष ७२ को सुरेस चन्द्र चक्रवती, ७३ को राम प्रसाद , बर्ष ६३ को धरम सिंह , बर्ष ६० की ईन्दु धाकद , बर्ष १६ की गर्बिदा चतुरबेदी, बर्ष ५४ को राम कुमार चतुरबेदी रहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

दुर्घटना गरेर चालक र सह-चालक फरार भएका थिए । चालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको सूचना १ घण्टा ढिलो पाएको थियो । सूचना ढिलो पाएका कारण उद्धारमा केही ढिलाई भएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिनद्र बोगटीले बताए । सकुशल भएपछि समयमै दुर्घटनाको विषयमा जानकारी गराउनुपर्ने चालक भागेर धनुषा पुगेको र घाइते यात्रु सडकमा निस्किएर घटनाबारे जानकारी गराउदा ढिलो हुन पुगेको बोगटीको भनाई छ ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।