बारा, चैत्र १५ गते ।
बाराबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगञ्जबाट पश्चिमतर्फ जाँदै गरेको मधेश ०३– ००१ क.२२४३ नम्बरको टेलरको क्याविनको सिटको भित्र लुकाईएको अवस्थामा प्रहरीले लागुऔषध फेला पारेको हो ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सवारी चेकजाँच गर्दा २८ एम्पुल डाइजेपाम, २८ एम्पुल नुर्फिन, २८ एम्पुल फेनार्गन, नाइट्राभेट १० लेखिएको ७५ ट्याब्लेट र नाइट्राजेपाम ८० ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
त्यस्तै प्रहरीले वीरगञ्जबाट मकवानपुरतर्फ जाँदै गरेको मधेश ०३–००१ क् २२४२ नम्बरको टेलरको क्याविनस्थित सिटमुनीबाट पनि लागु औषध बरामद गरेको छ । डाइजेपाम, नुर्फीन र फेनार्गन २६÷२६ एम्पुल, नाइट्राभेट १० लेखिएको १ सय ५० ट्याब्लटे र नाइट्राजेपाम ४० ट्याब्लेट बरामद गरेको बारा प्रहरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार लागुऔषधसहित रामेछापको खाँडदेवी गाउँपालिका वडा नम्बर २ निवासी ३१ वर्षीय अर्जुन कुमार श्रेष्ठ, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ निवासी १९ वर्षीय दिपेश कार्की र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय पुष्प बहादुर राईलाई पक्राउ गरिएको छ । उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए ।