रसुवा र नुवाकोटमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकको सहयोगका लागि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया भवानीपुरस्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ९ हजार २ सय ५० रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितका लागि राहत रकम सङ्कलन गरेका हुन्। विद्यार्थीहरूको पहलमा मिति २०८३ साल भदौ २६ गते विद्यालय परिसरमा राहत सङ्कलन कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त कार्यक्रममा विद्यार्थीहरूले स्वेच्छिक रूपमा सहयोग रकम सङ्कलन गरेका थिए। सङ्कलित ९ हजार २ सय ५० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइएको विद्यालयका प्रधानाध्यापक धनञ्जय गौतमले जानकारी दिनुभयो।

प्रधानाध्यापक गौतमले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकप्रति सहयोग र मानवीय संवेदनाको भावना जागृत गराउने उद्देश्यले विद्यार्थीहरूको सहभागितामा राहत सङ्कलन गरिएको बताउनुभयो।
उहाँले विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खाजा खर्चबाट रकम बचत गरी पीडितका लागि सहयोग गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको उल्लेख गर्नुभयो। सानो रकम भए पनि धेरै व्यक्तिको सहभागिता र सहयोगको भावना महत्वपूर्ण हुने भन्दै उहाँले विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु सामाजिक दायित्व भएको बताउनुभयो।
विद्यालयका विद्यार्थीहरूले पनि प्राकृतिक विपद्का कारण घरबार तथा सम्पत्ति गुमाएका नागरिकको पीडामा थोरै भए पनि साथ दिन राहत रकम सङ्कलन गरिएको बताएका छन्।
विद्यार्थीहरूको यस पहलले विद्यालय शिक्षासँगै सामाजिक उत्तरदायित्व, मानवीयता र सहयोगको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन्।




