बाराको निजगढस्थित लालबकैया नदीमा लगातारको वर्षासँगै पानीको बहाव बढेपछि नदी कटान तीव्र बनेको छ। कटानका कारण नदी किनारका बस्ती, खेतीयोग्य जमिन तथा भौतिक पूर्वाधार जोखिममा पर्न सक्ने अवस्था देखिएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
मंगलबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको नेतृत्वमा प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोलीले नदी कटानबाट प्रभावित क्षेत्रको अनुगमन गर्दै नदीको वर्तमान अवस्था, बहावको तीव्रता तथा थप क्षति हुन सक्ने सम्भावित स्थानहरूको मूल्यांकन गरेको हो।
अनुगमनका क्रममा टोलीले स्थानीय जनप्रतिनिधि र बासिन्दासँग छलफल गरी नदी कटानबाट उत्पन्न समस्याबारे जानकारी लिएको थियो। साथै तत्काल अपनाउनुपर्ने सुरक्षा उपाय, जोखिम न्यूनीकरणका प्रयास तथा दीर्घकालीन नदी नियन्त्रणका योजनाबारे समेत सुझाव संकलन गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी मिश्रले वर्षायाम अझै जारी रहेकाले सबै सरोकारवाला निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। उहाँले सम्भावित विपद्बाट जनधनको क्षति कम गर्न आवश्यक समन्वय, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।
सुरक्षा निकायले पनि सम्भावित आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको जनाएको छ। जोखिम बढेमा प्रभावित बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना समेत तयार पारिएको छ।
स्थानीय बासिन्दाले लालबकैया नदीको कटान वर्षेनी दोहोरिने समस्या भएकाले अस्थायी समाधानभन्दा दीर्घकालीन तटबन्ध निर्माण तथा प्रभावकारी नदी नियन्त्रण योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले नदी आसपासका बासिन्दालाई नदीको बहाव बढेका बेला अनावश्यक आवतजावत नगर्न, जोखिमपूर्ण क्षेत्रमा नबस्न तथा प्रशासन र सुरक्षा निकायबाट जारी गरिने सूचना तथा निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।




