जीतपुरसिमरामा अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा कार्यक्रम सञ्चालन गर्न निर्देशन

रञ्जन यादब /बारा २८ जेठ

जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा कार्यक्रम सञ्चालन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको पत्रमार्फत २४ वटै वडा कार्यालयलाई आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्न अनुरोध गरेको हो।

शाखा प्रमुख हरिश प्रसाद भट्टद्वारा हस्ताक्षरित पत्रमा आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक बजेट व्यवस्थापन गर्न भनिएको छ। विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने विद्युत महसुल, परीक्षा सञ्चालन, खानेपानी, स्टेशनरी व्यवस्थापनलगायत अन्य प्रशासनिक खर्चका लागि वडाले बजेट विनियोजन गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान गरी विद्यालयमा भर्ना गराउने उद्देश्यले आवश्यक कार्यक्रम सञ्चालन गर्न, विद्यालय तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्न पनि वडा कार्यालयहरूलाई आग्रह गरिएको छ।उपमहानगरपालिकाले शिक्षा सबै बालबालिकाको पहुँचमा पु¥याउने तथा विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने लक्ष्यसहित अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।