रञ्जन यादब /बारा २३ जेठ
वन्यजन्तु अपराध नियन्त्रण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी अभिमुखीकरण गोष्ठी सिमरामा सम्पन्न भएको छ। डिभिजन वन कार्यालय बाराको आयोजना तथा तराई भू–परिधि तथा संरक्षण कार्यक्रम को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा डिभिजन वन कार्यालय बाराका वन अधिकृत ललन राउत , अधिकृत संजय चौधरी, अधिकृत बादल र रेञ्जर निरज पोखरेलले सहजीकरण गर्दै वन्यजन्तु संरक्षण, वन अपराध नियन्त्रण तथा मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम गर्न आवश्यक उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो।

अभिमुखीकरणमा वन तथा वन्यजन्तुसम्बन्धी विद्यमान ऐन, कानुन, अपराधमा हुने दण्ड–सजाय, वन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रिया, वन संरक्षणका उपाय तथा सामुदायिक र साझेदारी वनको महत्व, प्रकार र विशेषताबारे विस्तृत जानकारी प्रदान गरिएको कार्यक्रम संयोज कबन अधिकृत बर्षा लामाले जानकारी दिईन् ।प्रशिक्षकहरूले वन्यजन्तुको अवैध सिकार, तस्करी तथा वन विनाशका गतिविधिले जैविक विविधता संरक्षणमा गम्भीर असर पार्ने भएकाले यस्ता अपराध नियन्त्रणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। साथै वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण गर्न सके मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले पछिल्लो समय बाघ, चितुवा, हाती, बाँदर तथा अन्य वन्यजन्तुसँग हुने द्वन्द्वका घटनाबारे जिज्ञासा राखेका थिए। त्यस अवसरमा वन्यजन्तु देखिएमा अपनाउनुपर्ने सावधानी, सूचना प्रवाहको प्रक्रिया तथा सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान गर्ने उपायबारे समेत जानकारी गराइएको थियो।, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सुरक्षाकर्मी,बन सुरक्षाकर्मी, सञ्चारकर्मीे सहभागिता रहेको कार्यक्रममा वन तथा वन्यजन्तु संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहेको निष्कर्ष निकालिएको थियो।कार्यक्रमका वक्ताहरूले वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई सँगसँगै अघि बढाउन जनचेतना अभिवृद्धि, कानुनको प्रभावकारी कार्यान्वयन तथा समुदाय–आधारित संरक्षण कार्यक्रमलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।




