रञ्जन यादब /बारा २२ जेठ
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योगको कपास गोदाममा शुक्रबार भएको आगलागीबाट १८० टन कपाससहित करोडौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । उद्योग परिसरभित्र रहेको कपास गोदाममा बिहान करिब १० बजे विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो । करिब दुई घण्टाको प्रयासपछि दिउँसो साढे १२ बजे आगो नियन्त्रणमा ल्याइएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

आगलागीबाट गोदाममा भण्डारण गरिएको १८० टन कपास, मिक्सिङ ब्लेण्डर, मिक्सिङ ओपनर, कन्डेन्सरलगायतका मेसिन तथा गोदाम भवनमा ठूलो क्षति पुगेको छ । यद्यपि घटनामा कुनै मानवीय क्षति भएको छैन ।आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अग्नि नियन्त्रकसहित सयौँ सुरक्षाकर्मी र मजदुर परिचालन गरिएको थियो । साथै जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, वीरगञ्ज महानगरपालिका, आदर्श कोतवाल गाउँपालिका तथा नेपाल आयल निगमलगायत विभिन्न निकायका ११ वटा दमकल प्रयोग गरिएको थियो ।

उद्योगका व्यवस्थापक नन्दकिशोर सिंहका अनुसार कपासलाई धागो उत्पादनका लागि एमबीओ मेसिनमार्फत पठाउने क्रममा विद्युत् सर्ट भई आगो लागेको हो । आगलागीबाट कपास, मेसिनरी उपकरण तथा गोदाम भवन पूर्णरूपमा जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।घटनापछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सरोज निरौला तथा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीलगायत सुरक्षा अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेका छन् ।प्रहरीका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने पुनः क्षति हुन नदिन पूर्ण रूपमा निभाउने कार्य जारी रहेको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य पनि भइरहेको उद्योग प्रशासनले जनाएको छ ।




