रञ्जन यादब /बारा २० जेठ
सूर्य नेपाल प्रालि सिमरामा सम्पन्न आधिकारिक ट्रेड युनियन निर्वाचनमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अखिल) निकट नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन विजयी भएको छ।निर्वाचनमा नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियनले १३३ मत प्राप्त गर्दै विजय हासिल गरेको मजदुर नेता बेनि तिमल्सिनाले जानकारी दिए ।
यसको प्रतिद्वन्द्वी समग्र उद्योग ट्रेड युनियन नेपालले ८७ मत प्राप्त गरेको निर्वाचन परिणाममा उल्लेख छ।नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियनले २०६२ सालदेखि हालसम्म लगातार १०औँ पटक आधिकारिक ट्रेड युनियनको निर्वाचन जित्दै आफ्नो वर्चस्व कायम राख्न सफल भएको मजदुर नेता तिमल्सिनाले बताए ।निर्वाचनबाट राम पुकार पासवान संयोजक, देवेन्द्र सिटौला अध्यक्ष, मानबहादुर श्रेष्ठ उपाध्यक्ष, ऋषि धामी सचिव, यमबहादुर क्षेत्री सहसचिव तथा खेसराज भट्टराई कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।त्यसैगरी सदस्यहरूमा चुडुहरी ढुङ्गेल, यमनाथ ओझा, कृष्ण बोगटी, गोविन्द कोइराला, दीपक महतो र बलराम भण्डारी निर्वाचित भएका छन्। निर्वाचित ११ सदस्यीय कार्यसमितिले आगामी कार्यकालमा श्रमिकहरूको हकहित, श्रम अधिकारको संरक्षण तथा उद्योगमा श्रमिक–व्यवस्थापन सम्बन्धलाई थप सुदृढ बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
उद्योगमा भएको निर्वाचनमा कुल २ सय २६ मतदाता रहेको उद्योगमा २ सय २१ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयका अधिकृत ओमप्रकाश साहले जानकारी दिए । जसमा एक वटा मत बदर भएको थियो ।निर्वाचित युनियनले आफ्नो विजयका लागि मतदान गर्ने सम्पूर्ण मतदाता, निर्वाचनमा सहभागी सबै पक्ष, प्रतिद्वन्द्वी समग्र उद्योग ट्रेड युनियन नेपाल, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षा निकाय तथा उद्योग व्यवस्थापनप्रति आभार व्यक्त गरेको छ।युनियनले श्रमिकहरूको विश्वास र समर्थनलाई उच्च सम्मान गर्दै आगामी दिनमा श्रमिक हितका विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता समेत जनाएको छ।




