रास्वपाको नगर अधिवेशन सिमरामा सम्पन्न, सुरेशराज केसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रञ्जन यादब /बारा २० जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जीतपरसिमरा उपमहानगरको नगर अधिवेशन सिमरामा सम्पन्न भएको छ । अधिवेशनले सुरेशराज केसीको सभापतित्वमा नयाँ नगर कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ ।गठन गरिएको नगर कार्यसमितिको उपसभापतिमा कविता चौधरी, सचिवमा अमृत बस्याल तथा सहसचिवमा नारायण उप्रेती सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।त्यसैगरी सदस्यहरूमा उषा बुढाथोकी प्रसाईँ, सुशीला कार्की, मालती भट्टराई, रामबाबु साह, मुकेश साह कलवार, कुणालराज गिरी, नसिमा खातुन, शेराबुल हक, मजीबुल रहमान अन्सारी, इन्द्रा ब्याल, सुवास थापा, शेरबहादुर थापा, सुशील लम्साल र दुर्गा पौडेल निर्वाचित भएका छन् ।

अधिवेशनमा पार्टीका जिल्ला तथा क्षेत्रीय तहका नेताहरूको समेत सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले संगठन विस्तार, सुशासन, पारदर्शिता तथा जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै नगरस्तरमा पार्टीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई अधिवेशनस्थलमै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। शपथ ग्रहणपछि नवनिर्वाचित सभापति केसीले नगरवासीको विश्वास जित्ने गरी संगठनलाई सक्रिय, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।

अधिवेशनले आगामी दिनमा वडा तहसम्म संगठन विस्तार गर्ने, युवाहरूको सहभागिता बढाउने तथा स्थानीय जनसरोकारका विषयमा सशक्त ढंगले आवाज उठाउने निर्णयसमेत गरेको जनाइएको छ। पार्टीका नेताहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप गतिशील र बलियो बनाउन आग्रह गरेका छन्।