रञ्जन यादब /बारा १९ जेठ
जीतपुरसिमरा उपमहानगरपालिकाले विद्यालय सञ्चालन अनुमति (लाइसेन्स) को दुरुपयोग तथा नियमविपरीत सञ्चालनमा संलग्न रहेको भन्दै चार वटा संस्थागत विद्यालय बन्द गराएको छ। उपमहानगरपालिकाको शिक्षा महाशाखाले सिमरा स्थित माउन्ट एभरेष्ट स्कुलसहित रोज एकेडेमी, अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र बाबुलाल एकेडेमीलाई बन्द गराउने निर्णय गरेको हो।बन्द गरिएका विद्यालयमध्ये वडा नं. ३ रामवनस्थित रोज एकेडेमी, वडा नं. ७ जीतपुर स्थित अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल तथा वडा नं. १९ स्थित बाबुलाल एकेडेमीले विद्यालय सञ्चालन अनुमति लिए पनि लामो समयदेखि सञ्चालन नगरेको पाइएको शिक्षा महाशाखाले जनाएको छ।
सबैभन्दा गम्भीर अनियमितता भने माउन्ट एभरेष्ट स्कुलको हकमा भेटिएको छ। शिक्षा अधिकृत हरिश भट्टका अनुसार माउन्ट एभरेष्ट स्कुलले वडा नं. २ मा सञ्चालन अनुमति प्राप्त गरेको भए पनि सो स्थानमा विद्यालय सञ्चालनमा छैन। उक्त विद्यालयको अनुमति पत्र प्रयोग गर्दै वडा नं. २१ अमलेखगञ्जस्थित नाइट एन्जल बोर्डिङ स्कुलको भौतिक संरचनाबाट कक्षा सञ्चालन भइरहेको पाइएको हो। नाइट एन्जल बोर्डिङ स्कुलले कक्षा ७ सम्म मात्र सञ्चालन अनुमति प्राप्त गरेको भए पनि माउन्ट एभरेष्टको अनुमतिको आधारमा कक्षा १० सम्म विद्यार्थी भर्ना तथा पठनपाठन गराउँदै आएको अनुगमनबाट खुलासा भएको शिक्षा शाखाले जनाएको छ। यसलाई विद्यालय सञ्चालन अनुमति पत्रको स्पष्ट दुरुपयोग तथा खरिद–बिक्रीको प्रवृत्तिको रूपमा लिइएको छ ।
उपमहानगरपालिकाले यसअघि पटक–पटक मौखिक तथा लिखित रूपमा सचेत गराउँदा समेत सम्बन्धित विद्यालय व्यवस्थापनले अटेरी गरेपछि कारबाहीको कदम चाल्न बाध्य भएको जनाएको छ। नगर प्रमुख, उपप्रमुख तथा शिक्षा शाखाको संयुक्त अनुगमन टोलीले विभिन्न चरणमा गरेको निरीक्षणपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। शिक्षा महाशाखाले अभिभावकहरूलाई बन्द गरिएका विद्यालयहरूमा आफ्ना छोराछोरी भर्ना नगर्न तथा विद्यालय छनोट गर्दा अनुमति, भौतिक पूर्वाधार र कानुनी अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
उपमहानगरपालिकाको यो कदमले विद्यालय सञ्चालन अनुमतिपत्रको दुरुपयोग रोक्न, शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउन तथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। शिक्षा क्षेत्रमा देखिएको लाइसेन्स कारोबार र नियमविपरीत सञ्चालनको प्रवृत्तिविरुद्ध उपमहानगरले आगामी दिनमा समेत कडा अनुगमन र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।




