रञ्जन यादब /बारा १८ जेठ
जीतपुरसिमरा उपमहानगरपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। जेठ ९ गते वडा नं. २२ र जेठ ११ गते वडा नं. ११ मा आएको तीव्र हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेपछि उपमहानगरपालिकाले प्रभावित परिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो।उपमहानगरपालिकाका अनुसार हावाहुरीका कारण घरको छाना उड्ने, टहरा तथा गोठ भत्किने, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुग्ने लगायतका घटना भएका छन्। प्रभावित परिवारहरूको वास्तविक अवस्था र क्षतिको मूल्याङ्कनका आधारमा राहत रकम उपलब्ध गराइने जनाइएको छ।

उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको अध्यक्षतमा बसेको नगर स्तरीय बिपत ब्यवस्थापन समितीको निर्णयअनुसार वडा स्तरीय विपद् व्यवस्थापन समितिको सिफारिस तथा स्थलगत निरीक्षणबाट प्राप्त प्रतिवेदनका आधारमा आंशिक क्षति भएका परिवारलाई न्यूनतम ५ हजार रुपैयाँ र बढी क्षति भएका परिवारलाई अधिकतम १५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइनेछ।प्रारम्भिक तथ्यांकअनुसार वडा नं. २२ मा करिब ५० घरधुरी तथा वडा नं. ११ मा करिब ४० घरधुरी प्रभावित भएका छन्। प्रभावित क्षेत्रका वडाध्यक्ष, जनप्रतिनिधि तथा प्राविधिक टोलीले क्षतिको विवरण संकलन गर्ने कार्यलाई तीव्रता दिएका छन्।उपमहानगरपालिकाले विपद्को समयमा नागरिकलाई राहत र सहयोग उपलब्ध गराउने दायित्वअनुसार तत्काल राहत कार्यक्रम अघि बढाइएको जनाएको छ। साथै, प्रभावित परिवारलाई आवश्यक सहयोग तथा पुनःस्थापनाका लागि थप पहलसमेत गरिने नगरपालिकाले जनाएको छ।
स्थानीयवासीहरूले प्राकृतिक विपद्को कठिन अवस्थामा उपमहानगरपालिकाले राहतको निर्णय गरेकोमा स्वागत गर्दै प्रभावित परिवारलाई शीघ्र राहत वितरण गर्न आग्रह गरेका छन्। नगरपालिकाले राहत वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेको छ।




