रञ्जन यादब /बारा ११ जेठ
बारामा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जित्न सफल जीतपुरसिमरा उपमहानगरपालिका ले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ । जिल्ला खेलकुद समिति बाराको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागी भएका उपमहानगरपालिकाका ८६ जना विद्यार्थी खेलाडीमध्ये ७६ जनाले विभिन्न विधामा पदक जित्न सफल भएका थिए ।
उत्कृष्ट प्रदर्शन गर्दै जीतपुरसिमराले समग्रमा प्रथम स्थान हासिल गरेको हो ।उपमहानगरपालिकाको युवा, शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख शिवजी प्रसादका अनुसार स्वर्ण पदक विजेता विद्यार्थीहरुलाई जनही १ हजार ५ सय रुपैयाँ, रजत पदक विजेतालाई जनही १ हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई जनही ५ सय रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाका खेलाडीहरुले २० स्वर्ण, २० रजत र १० कास्यसहित कुल ५० पदक जित्दै जिल्लाभर उत्कृष्ट नतिजा हासिल गरेका थिए ।
प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहको सहभागिता रहेको थियो । जसमा निजगढ नगरपालिका दोस्रो तथा कलैया उपमहानगरपालिका तेस्रो स्थानमा रहेका थिए ।सम्मान कार्यक्रममा नगर प्रमुख राजन पौडेल ले खेलाडीहरुको मेहनत, अनुशासन र उत्कृष्ट प्रदर्शनले उपमहानगरपालिकाको गौरव बढाएको बताए । उनले विद्यार्थी खेलाडीहरुलाई थप उत्साह र प्रेरणा दिन नगदसहित सम्मान गरिएको उल्लेख गर्दै आगामी दिनमा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिइने बताए ।कार्यक्रममा प्रशिक्षक, विद्यालयका प्रतिनिधि र खेलाडिहरुको उपस्थिति रहेको थियो । उपप्रमुख भोला प्रसाद अधिकारीले खेलकुदले विद्यार्थीहरुको प्रतिभा विकाससँगै अनुशासन, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने भएकाले उपमहानगरपालिकाले यस्ता प्रतियोगितालाई प्राथमिकतामा राखेको बताएका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाले यसअघि पनि दुई पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितिसकेको छ । लगातार उत्कृष्ट नतिजा हासिल गर्दै आएको उपमहानगरपालिकाले जिल्लामा खेलकुद विकास र विद्यार्थी खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।



