सिमरा सेजको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले स्थलगत अनुगमन , ९३ परिवारले पुनस्र्थापनाको माग गर्दै बुझाए ज्ञापन पत्र

रञ्जन यादब /बारा १० जेठ

बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले आइतबार स्थलगत अनुगमन गरेकी छन ।सेज क्षेत्रमा बढ्दो अतिक्रमण, उद्योग सञ्चालनमा देखिएको समस्या तथा स्थानीय बासिन्दाको मागबारे जानकारी लिन मन्त्री यादव सिमरा पुगेकी हुन् ।अनुगमनका क्रममा सिमरा सेजको जग्गामा बसोबास गरिरहेका ९३ परिवारले आफूहरूको उचित पुनस्र्थापनाको व्यवस्था गर्न माग गर्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको क्षेत्रमा वैकल्पिक व्यवस्थाविना हटाउन खोजिए मानवीय संकट उत्पन्न हुने बताएका छन् ।

सेज प्रशासनले भने अतिक्रमणको दायरा अझै फराकिलो बन्दै गएको जनाएको छ । ‘हामीले २०७७÷०७८ मा तयार पारेको तथ्यांकले ६०६ घर अतिक्रमण गरी बनेको देखिन्छ । अहिले यो संख्या बढेको हुन सक्छ,’ एक अधिकारीले बताएका छन् ।यसैबीच, राजन पौडेल ले सेजको जग्गा अतिक्रमण भएको विषयमा सबैलाई एउटै तराजुमा हाल्न नहुने भन्दै मन्त्री यादवको ध्यानाकर्षण गराएका छन् ।‘सिमरा सेजको जग्गा खाली हुनुपर्छ, उद्योग बन्नुपर्छ तर अतिक्रमित क्षेत्र खाली गर्ने नाममा विगतको इतिहासलाई बिर्सेर मन्त्रालय र प्राधिकरण अघि नबढोस्,’ नगर प्रमुख पौडेलले भने ।उनले सिमरा सेजको जग्गा व्यवस्थापन तथा उद्योग सञ्चालनका विषयमा आवश्यक सहजीकरण गर्न उपमहानगरपालिकाले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि समन्वय तथा सहकार्य जारी रहने बताए ।

मन्त्री यादवले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालासँग छलफल गर्दै समस्या समाधानका लागि व्यवहारिक र दीर्घकालीन उपाय खोजिने बताएकी थिइन् । उनले उद्योग प्रवद्र्धनसँगै स्थानीय बासिन्दाको अवस्थालाई समेत ध्यानमा राखेर निर्णय गरिने संकेत दिएकी छन् ।कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो । मन्त्री यादवले सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसँग औपचारिक छलफल गर्नुअघि सिमरा सेजका अन्य सरोकारवालासँग अन्तक्र्रियासमेत गरेकी थिइन् ।यसअघि मन्त्री यादवले शनिबार बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगम को मधेश प्रदेश डिपो तथा रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको अनुगमन तथा निरीक्षण गरेकी थिइन् । उक्त क्रममा उनले पेट्रोलियम आपूर्ति प्रणाली, भण्डारण क्षमता तथा पाइपलाइन सञ्चालन अवस्थाबारे जानकारी लिएकी थिइन् ।