जीतपुर र प्रसौनी बजारमा संयुक्त अनुगमन ः अधिकांश पसल बन्द, पाँच पसलमा मात्र निरीक्षण

रञ्जन यादब /बारा ३१ बैशाख

जितपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजार क्षेत्रमा बिहीबार जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा संयुक्त अनुगमन गरिएको छ । अनुगमनको सूचना र डरका कारण बुधबारदेखि नै अधिकांश व्यवसायीहरूले आफ्ना पसलहरू बन्द गरेका थिए भने बिहीबार पनि बजार क्षेत्रमा धेरैजसो सटरहरू बन्द नै रहेका थिए ।

अनुगमन टोली बजारमा पुग्दा खुलेका सीमित पसलहरूको मात्र निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा न्यु जगदम्बा स्विट्स एण्ड बेकरी, एसियन मार्ट किराना पसल, मामा भान्जा किराना तथा जनरल स्टोर्स, होटल मिष्ठान भण्डार र जय राज चमेना गृह गरी पाँच वटा पसलहरूको मात्र अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।निरीक्षणका क्रममा ती पसलहरूमा गम्भीर अनियमितता वा कानुन विपरीतका ठूला त्रुटिहरू नदेखिएको बताउँदै सम्बन्धित व्यवसायीहरूलाई सामान्य सुधार र नियम पालना गर्न निर्देशन दिइएको थियो । अनुगमन टोलीले उपभोक्ता अधिकार संरक्षण, गुणस्तर सुनिश्चितता तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित रूपमा अनुगमन जारी रहने पनि जनाएको छ ।त्यसैगरी प्रसौनी गाउँपालिकाको प्रसौनी बजारमा पुगेको अनुगमन टोलीले भने अधिकांश पसलहरू पूर्ण रूपमा बन्द भएको अवस्था भेटाएको थियो । केही व्यवसायीहरू अनुगमनको पूर्वसूचना र कारबाहीको डरले पसल बन्द गरेर सम्पर्कविहीन जस्तै बनेको देखिएको स्थानीय स्रोतले जनाएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बाराका अधिकृत दिपेन्द्र प्रसाद यादव, नायब सुब्बा रत्न स्याङ्तान, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका आशुतोष कुशवाहा, घरेलु तथा साना उद्योग कार्यालय बाराका अलिसरन अंसारी, गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका जोखन प्रसाद चौहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका जगत चौधरी, जिल्ला प्रहरी कार्यालय बारा तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।अनुगमन टोलीले बजारमा मापदण्डअनुसार मूल्य सूची, सरसफाइ, म्याद नाघेका सामग्री, नापतौल तथा उपभोक्ता अधिकारसम्बन्धी विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ । साथै आगामी दिनमा नियम उल्लंघन गर्ने व्यवसायीमाथि कानुनी कारबाही कडा रूपमा अघि बढाइने चेतावनी समेत दिइएको छ ।