रञ्जन यादब /बारा ३१ बैशाख
बाराको जीतपुर स्थित जीतपुरसिमरा उपमहानगरपालिका–७ को जीतपुर बजार क्षेत्रमा बिहीबार नगर प्रहरी र फुटपाथ व्यवसायीबीच केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ।
फुटपाथ अतिक्रमण हटाउने क्रममा विवाद बढेपछि बजार क्षेत्र तनावग्रस्त बनेको हो। उपमहानगरपालिकाले सडक तथा फुटपाथ खाली गराउने अभियान सञ्चालन गरिरहेका बेला मकै तथा फलफूल बेच्ने केही फुटपाथ व्यवसायी र स्थानीयवासी नगर प्रहरीसँग विवादमा उत्रेर हातपात गरेका थिए।

विवाद चर्किने क्रममा एक मकै व्यवसायीले जल्दो आगो नगर प्रहरीतर्फ फालेका थिए। यद्यपि उक्त घटनामा कुनै नगर प्रहरी घाइते नभएको जनाइएको छ।घटनापछि केही समय जीतपुर बजार क्षेत्र तनावग्रस्त बनेको थियो। फुटपाथ व्यवसायी र केही स्थानीयवासीले हातमा रड तथा चक्कु लिएर जीतपुरसिमरा उपमहानगरपालिका कार्यालय घेराउ गरेका थिए।पछि ईलाका प्रहरी कार्यालय जीतपुर बाट पुगेको प्रहरी टोली र नगर प्रहरीको संयुक्त प्रयासपछि स्थिति नियन्त्रणमा आएको थियो। हाल जीतपुर बजारको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।

विवाद साम्य भएपछि केही फुटपाथ व्यवसायीले पुनः फुटपाथमै पसल सञ्चालन गर्न थालेका छन्। यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिकाले सार्वजनिक स्थान तथा फुटपाथ व्यवस्थापन अभियानमा अवरोध गर्ने तथा नगर प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।उपमहानगरपालिकाले बजार व्यवस्थापन तथा सडक अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिइने जनाएको छ।



