रञ्जन यादब /बारा ३० बैशाख
बारा जिल्लाको कोल्हवी क्षेत्रमा उपभोक्ता अधिकार संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको संयुक्त बजार अनुगमनमा मापदण्ड उल्लङ्घन गर्ने व्यवसायिक प्रतिष्ठानहरूलाई जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बारा को नेतृत्वमा गरिएको अनुगमनमा विभिन्न सरकारी तथा सरोकारवाला निकायहरूको संयुक्त टोली सहभागी थियो। टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय कोल्हवी तथा उपभोक्ता हित संरक्षण मञ्च बारा लगायतको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको पाइएपछि विभिन्न व्यवसायीहरूलाई जरिवाना गरिएको छ।यस क्रममा सबैभन्दा बढी कैफियत भेटिएको महागढीमाई नगरपालिका वडा नं.१ ब्रियारपुर स्थित मुस्कान डेरी उद्योगलाई रु. ७५ हजार जरिवाना गरिएको छ, जसलाई अनुगमन टोलीले प्रमुख कारबाहीको रूपमा लिएको छ।त्यसैगरी कोल्हबी नगरपालिका वडा नं.१ स्थित न्यू जैसवाल मिठाई भण्डार र वडा नं.३ स्थित बैष्णव होटललाई रु. ५।५ हजार जरिवाना र वडा नं.२ स्थित हाम्रो फ्रेश चाउमिन उद्योगलाई रु. २० हजार जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ।
समितिका अनुसार केही व्यवसायहरूलाई आवश्यक सुधारका लागि निर्देशन दिइएको छ भने मूल्य सूची प्रदर्शन, सरसफाइ, गुणस्तर मापदण्ड र उपभोक्ता अधिकारसम्बन्धी नियम पालना गर्न सचेत गराइएको छ ।जिल्ला प्रशासन कार्यालय बारा नेतृत्वको टोलीले बजार अनुगमनलाई अझ प्रभावकारी र कडाइका साथ निरन्तरता दिने जनाएको छ।



