रञ्जन यादब /बारा १७ बैशाख
साना किसान कृषि सहकारी संस्था सिमराले निधन भएका आफना शेयर सदस्यको परिवारलाई बिमा बापतको रकम रु ३ लाख हस्तान्तरण गरेको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ अमलेखगञ्जमा अन्तरसमूह नं. ५, समूह नं. १३५ की शेयर सदस्य गोमा माया राईको दुःखद निधन भएपछि उहाँको परिवारलाई ३ लाख रुपैयाँ बराबरको म्यादि जीवन बीमा रकम हस्तान्तरण गरिएको संंस्थाकी अध्यक्ष कमला अधिकारीले जानकारी दिईन् ।

एक कार्यक्रमबीच प्रमुख अतिथि वडा नं. २१ का वडा अध्यक्ष सुबास श्रेष्ठले मृतक सदस्यको परिवारलाई उक्त बीमा रकम हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले सहकारीमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षामा यस्ता बीमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले दुःखको घडीमा परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले यस्तो सहयोग प्रभावकारी हुने उल्लेख गर्नुभयो। सहकारी संस्थाका पदाधिकारीहरूले दिवांगत हुनु भएकी गोमा माया राई संस्थाकी सक्रिय तथा जिम्मेवार सदस्य रहेको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

साथै, सदस्यहरूको हित र सुरक्षाका लागि सहकारीले निरन्तर विभिन्न सामाजिक सुरक्षा तथा बीमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि गराइएको थियो।कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष, संस्थाका सहजकर्ता कुलोत्तम पोख्रेल ,व्यवस्थापक, कर्मचारी, अन्तरसमूहका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा परिवारजनहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रतिसमवेदना व्यक्त गरेका थिए।

