लुमन्तीको आयोजनामा मनसुन पूर्वतयारी र आगलागी सचेतना कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा ०९ बैशाख

लुमन्ती आवासका लागि सहयोग समूहको आयोजना तथा सशस्त्र प्रहरी बल (एपीएफ) १२ नम्बर गणको सहजीकरणमा जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर ९, ११, १९ र २० मा मनसुन पूर्वतयारी तथा आगलागी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय बासिन्दाहरूलाई मनसुनको समयमा हुन सक्ने बाढी, डुबान, चट्याङ तथा अन्य प्राकृतिक विपद्बाट जोगिने उपायबारे जानकारी दिइएको थियो। त्यसैगरी, आगलागी जस्ता आकस्मिक घटनाबाट बच्न अपनाउनुपर्ने सावधानी, प्राथमिक उद्धार विधि र आगो नियन्त्रणका आधारभूत सीपसमेत सिकाइएको आयोजकले जनाएको छ।

सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूले विपद् व्यवस्थापनका क्रममा अपनाइने व्यवहारिक उपाय, सुरक्षित स्थानतर्फको स्थानान्तरण प्रक्रिया र आपतकालीन अवस्थामा सम्पर्क गर्नुपर्ने निकायबारे जानकारी गराएको लुमन्तीका समाजिक परिचालक रबि तिबारीले जानकारी दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास समिति, युवा समूह तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।लुमन्ती आवासका लागि सहयोग समूहले समुदायस्तरमै जोखिम न्यूनीकरण र सुरक्षित बासोबासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।