जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाको बाताबरणीय परिक्षण प्रतिवेदनप्रती बन कार्यालयको चासो

रञ्जन यादब /बारा ०८ बैशाख

डिभिजन वन कार्यालय बाराले पत्र लेखेर जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाको बाताबरणीय परिक्षण प्रतिवेदनप्रती चासो देखाएको छ । कार्यालयले जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकालाई पत्र पठाउँदै वातावरणीय परिक्षन विना वा वातावरणीय परिक्षनको कार्यान्वयन बिना भइरहेको ढुङ्गा, गिट्टी र बालुवा उत्खननप्रति गम्भीर चासो व्यक्त गरेको हो। आएको जनगुनासोलाई मध्यनजर गरीे नदीजन्य पदार्थ ढुङ्गा ,गिटी ,बालुवा संकलन तथा उत्खनन् प्रती चासो ब्यक्त गरेको हो ।

वन क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खनन गर्नुअघि अनिवार्य रूपमा वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गराउनुपर्ने स्पष्ट ब्यवस्था रहेको छ ।वन कार्यालयले विशेषगरी संक्षिप्त वातावरणीय अध्ययन वा प्रारम्भिक वातावरणीय परीक्षण नगरी कुनै पनि उत्खनन कार्य सञ्चालन नगर्न कडा रूपमा सचेत गराएको छ। त्यस्ता प्रतिवेदनहरू सम्बन्धित निकायबाट स्वीकृत भएपछि मात्र उत्खनन गर्न पाइने व्यवस्था रहेको पत्रमा उल्लेख गरिएको छ। कार्यालयका अनुसार ‘ढुङ्गा, गिट्टी, बालुवा बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७’ ले वन तथा चुरे क्षेत्रबाट जथाभावी उत्खननमा रोक लगाएको छ। अत्यावश्यक अवस्थामा समेत स्वीकृत वातावरणीय प्रतिवेदनको आधारमा मात्र उत्खनन गर्न मिल्ने प्रावधान रहेको जनाइएको छ।

यसैगरी, राष्ट्रिय वन क्षेत्रभित्र पर्ने यस्ता आयोजनाहरूको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने अधिकार मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयसँग रहने स्पष्ट पारिएको छ। त्यसैले स्थानीय तहहरूले प्रतिवेदन तयार पारेर सम्बन्धित मन्त्रालयबाट स्वीकृति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । डिभिजन बन कार्यालय डिभिजनल वन अधिकृत सुजीत कुमार झाले हस्ताक्षर गर्नुभएको पत्रमा स्वीकृत प्रतिवेदनको मापदण्ड अनुसार मात्र कार्य अघि बढाउन र कुनै अन्योल भएमा वन कार्यालयसँग समन्वय गर्न आग्रह गरिएको छ। साथै, वातावरण निरीक्षकमार्फत जुनसुकै बेला अनुगमन तथा निरीक्षण हुनसक्ने जानकारी गराईएको छ ।