रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाले ‘एक पालिका, एक उत्कृष्ट शिक्षक’ पुरस्कार’ कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्रका शिक्षकहरुबाट आवेदन माग गरेको छ । जस अन्तर्गत ३ जना स्थायी शिक्षक छनोट गरी मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय सिफारिस गर्नुपर्ने हुन्छ ।उपमहानगरपालिकाले असार ६ गते सम्म आवेदन दिन अनुरोध गरेको छ ।मधेश प्रदेश सरकारको यस कार्यक्रमले शिक्षण पेशाप्रति सम्मान प्रकट गर्नुका साथै शिक्षकहरुलाई थप प्रेरित गर्ने विश्वास गरिएको छ ।
मन्त्रालयले सिफारिस पाउने शिक्षकहरूलाई विशेष सम्मान स्वरूप पुरस्कृत गर्ने जनाएको छ ।मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशभरको एक सय ३६ वटै स्थानीय तहका एक उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न लागेको छ । ‘एक पालिका, एक उत्कृष्ट शिक्षक’ पुरस्कार’ कार्यक्रम अन्तर्गत मन्त्रालयले सात दिनभित्र योग्य शिक्षकको सिफारिस गर्न स्थानीय तहलाई पत्राचार समेत गरेको छ । आर्थिक वर्ष २०८१।०८२ को योजना अनुसार मन्त्रीस्तरबाट भएको निर्णयका आधारमा मन्त्रालयले असार २ गते सबै पालिकाहरुलाई पत्राचार गर्दै उक्त सिफारिसको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो । सिफारिसका लागि शिक्षण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका स्थायी शिक्षकहरूलाई छनोट गर्न भनिएको छ ।
शिक्षक छनोटका लागि शिक्षकले अध्यापन गरेको तह र विषय अनुसार सबैभन्दा माथिल्लो कक्षाका विद्यर्थीको अन्तिम परीक्षाको नतिजा, शैक्षिक सत्र २०८१ मा विद्यालयमा शिक्षकको उपस्थित दिन, अध्यापन गरेको विषयमा गरिएको अनुसन्धान प्रतिवेदन, सेवा अवधि, शिक्षण कार्यबाहेक लिएको अतिरिक्त जिम्मेवारी र समुदाय, अभिभावक, विद्यालय परिवार तथा विद्यार्थीसँगको सम्बन्धलाई मापदण्ड बनाइएको छ ।