रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो मातहतका कार्यालयका कर्मचारीहरुलाई पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाएर कार्यालयमा आउँन निर्देशन दिएको छ । उपमहानगरपालिका अन्तर्गतका सबै शाखा, उपशाखा, अस्पताल, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा कार्यरत सम्पूर्ण स्थायी तथा करार कर्मचारीहरूका लागि नयाँ निर्देश जारी गरिएको हो ।नयाँ निर्देशन अनुसार, कार्यालय समयमा अनिवार्य रूपमा पोशाक र परिचयपत्र लगाई कार्यालयमा उपस्थित हुनु पर्नेछ ।
त्यस्तै, सबै कार्यालयहरूमा डिजिटल हाजिरी प्रणाली (ई हाजिरी) लागू गरिएकाले, हाजिरी पुस्तिकामा उपस्थिति नभएमा हाजिर नमानिने स्पष्ट गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत शान्तिराज प्रसाँईद्धारा जारी सूचनामा भनिएको छ, अनुमति विना कार्यस्थल बाहिर ननिस्कनु, अनि पोशाक र परिचयपत्र बिना कार्यालय नआउनु पर्ने व्यवस्था लागू गरिएको छ ।विशेष परिस्थिति तथा बाहिरी कार्यको हकमा पनि पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनु पर्ने छ ।साथै, उपमहानगरपालिकाले तोकेको पोशाकमा मात्र कार्यालय प्रवेश गर्न पाइने जनाइएको छ। नगर प्रहरीका हकमा पनि उपमहानगरपालिकाले तोकेको पोशाक लगाएर मात्र कार्यस्थलमा खटिनुपर्ने स्पष्ट गरिएको छ ।
सबै कर्मचारीहरुलाई शुक्रबारको दिन बाहेक अन्य दिनमा तोकिएको पोशाक र परिचयपत्र अनिवार्य रूपमा लगाउन आग्रह गरिएको छ । ब्यक्तिगत तथा कार्यालयको कामकाजले जानुपर्ने अवस्था रहेमा काज तथा बिदा स्वीकृत गराएर मात्र जान जानकारी सुचनाको माध्यमले कर्मचारीहरुलाई गराईएको छ ।