रञ्जन यादब /बारा
डिभिजन बन कार्यालय बाराको आयोजनामा जिल्ला स्तरीय सुरक्षा निकायसँग अन्तरक्रिया गोष्ठी सिमरामा सम्पन्न भएको छ। गोष्ठीमा बाराको बन क्षेत्रको वर्तमान अवस्था, अतिक्रमित बनजंगल र कार्यदौरान देखिएका चुनौती तथा समस्याहरूका बारेमा छलफल गरिएको थियो ।गोष्ठीमा डिभिजनल बन अधिकृत राजीव कुमार झाले बाराको बन क्षेत्रमा देखिएका समस्या, अतिक्रमणको अवस्था र तिनीहरूको समाधानका उपायहरूबारे जानकारी गराए। उनले संरक्षण र पुनस्र्थापनामा भइरहेको प्रयासबारे समेत सहभागीहरूलाई अवगत गराएका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले अतिक्रमित जग्गाहरूलाई पुनः बन क्षेत्रमै फर्काउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। उनले बन कार्यालयलाई योजनाबद्ध तरिकाले अगाडि बढ्न आग्रह गर्दै अतिक्रमण हटाउने कार्यमा दृढताका साथ गृहकार्य गर्न निर्देशन दिए।पदम, हैसियत वा संस्था जेसुकै भए पनि बन क्षेत्र अतिक्रमण गर्ने कसैलाई पनि छुट नरहेको स्पष्ट पार्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुनको दायरामा रही बन संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको बताए ।गोष्ठीमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गोष्ठिमा बाराका प्रहरी उपरिक्षक सन्तोष तमाङ्ग ,रिपु मर्दन गणका गणपती असोक क्षेत्री ,सशस्त्र प्रहरी उपरिक्षक खुम बहादुर के.सि. ,उप अनुसन्धान निर्देशक दिपक खड्का ,ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक सुभद्रा वाईवा ,मालपोत कार्यालय सिमराका प्रमुख ईन्द्रदेव पाण्डे ,नापी शाखा सिमरा प्रमुख राधेश्याम साह लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन रेञ्जर निरज पोख्रेलले गरेका थिए ।