प्रशुरामपुरबाट तीन थान साल काठ बरामद, स्थानीयद्धारा अवरोध ,नियन्त्रणमा लिन २ घण्टाको प्रयास

रञ्जन यादब /पर्सा

पर्सागढी नगरपालिका वडा नम्बर ४ स्थित प्रशुरामपुरबाट तीन थान साल जातका काठ बरामद गरिएको छ । करिब २० क्युफिटको काठ बालुवा र खरले छोपेर राखिएको अवस्थामा फेला परेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।सबैया सब डिभिजन बन कार्यालयबाट रेञ्जर भूपाल रोकायको नेतृत्वमा खटिएको बन गस्ती टोलीले ती काठहरू बरामद गरेको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

काठ बरामद गरी बन कार्यालय ल्याउन गस्ती टोलीलाई निकै कठिनाइ भएको थियो । स्थानीयको अवरोधका बाबजुद करिब दुई घण्टाको प्रयासपछि काठ नियन्त्रणमा लिन सफल भएको बन कार्यालयले जनाएको छ ।नियन्त्रणमा लिएको काठलाई सबैया सब डिभिजन बन कार्यालयको नियन्त्रणमा राखिएको छ ।त्यस्तै बड्निहार सब डिभिजन बन कार्यालयले पाँचवटा साईकल सहितको दाउरा नियन्त्रणमा लिएको छ । जमदार जीतबहादुर कमाण्डमा खटिएको बन गस्ती टोलीले दाउरा सहितको साईकल नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।