रञ्जन यादब /बारा
ट्राफिक नियमको पालना र फुटपाथ पार्किङ व्यवस्थापन सम्बन्धी सप्ताहब्यापी सचेतना कार्यक्रम बाराको जीतपुरमा सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका ,वडा नं.७ को कार्यालय ,नेपाल प्रहरी, स्थानीय तह, विद्यालय तथा समुदायका प्रतिनिधिहरूको संयुक्त सहकार्यमा आयोजित उक्त कार्यक्रममा सडक सुरक्षाका विषयमा जानकारी प्रदान गरिनुका साथै ट्राफिक नियम पालना ,पार्किङ्ग ब्यवस्थापनमा गर्नमा सबैलाई सहयोग गर्न आह्वान गरिएको थियो ।
वडा नं.७ जीतपुर कार्यालयको समन्वयमा भएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।कार्यक्रमका वक्ताहरूले अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण तथा ट्राफिक नियमको उल्लंघनले हुने दुर्घटनाबारे चेतना फैलाउँदै, यस्ता समस्याको समाधानका लागि प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए। सुरक्षित र व्यवस्थित समाज निर्माणतर्फ यो कार्यक्रम एक सकारात्मक कदमका रूपमा हेरिएको छ ।
कार्यक्रममा नगर प्रमुख राजन पौडेल ,वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ता ,ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरिक्षक सोभन बिक्रम राणा ,ईलाका प्रहरी कार्यालय जीतपुरका जे जंग कार्की लगायतको सहभागिता रहेको थियो ।