रञ्जन यादब । बारा
दुबई रोजगारीका लागि पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्तिलाई पीडित आफैले समातेर प्रहरीको जिम्मा लगाएका छन्। परवानीपुर गाउँपालिका–३ का ४५ वर्षीय श्रवन साह रौनियारलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ ।
श्रवन साहले जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रका ६ जनाबाट प्लम्बर हेल्पर र इलेक्ट्रिसियन हेल्परको रुपमा दुबई पठाउने भन्दै प्रति व्यक्ति दुई लाख रुपैयाँका दरले रकम असुली गरेका थिए। पीडितहरूले विभिन्न समयमा उनलाई जम्मा १० लाख ९० हजार रुपैयाँ बुझाएका थिए। तर, श्रवनले विदेश पठाउने कुनै प्रक्रिया अघि नबढाई पीडितसँग सम्पर्कसमेत टुटाएका थिए ।
विशेषगरी अशोक पासवान आर्थिक अभावका कारण १ लाख १० हजार रुपैयाँ तिर्न नसक्दा आफ्नो मोटरसाइकल श्रवनको नाममा पास गर्न बाध्य भएका थिए ।
श्रवनविरुद्ध थप उजुरी पनि परेका छन् । उनलाई पक्राउ गरिएको खबर बाहिरिएपछि परवानीपुर गाउँपालिका–२ का हाकिम हवारी, सुरेन्द्र साह र रामबाबु रामले पनि ईलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएका छन् । उनीहरूले श्रवनलाई ५ लाख ९० हजार रुपैयाँ दिएको बताएका छन् ।
पक्राउ परेपछि खुलेको यो ठगी प्रकरणमा श्रवन विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।