रञ्जन यादब /बारा
अखिल नेपाल ट्रेड युनियन महासंघ, मधेश प्रदेश समितिको आयोजनामा १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवस बाराको जीतपुरमा भव्य रूपमा सम्पन्न भएको छ। प्रभातफेरी पछि आयोजित औपचारिक कार्यक्रमको प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य र बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठले देशको प्रत्येक परिवर्तनमा मजदुर आन्दोलनको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो। उहाँले जनयुद्धमा मजदुरहरुले देखाएको साहसिक भुमिका स्मरण गर्दै अहिले पनि उनीहरुको योगदानले नयाँ दिशा दिनसक्ने विश्वास व्यक्त गर्नुभयो ।
श्रेष्ठले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा बनेको तत्कालिन सरकारले शान्ति, सुशासन र समृद्धिको मार्गमा अघि बढ्दा नेपाली काग्रेस र नेकपा एमालेमा पहिरो गएको बताए । अहिलेको सरकार भ्रष्ट्रचार र बिचौलियाको सरकार भएको टिप्पणी गरे ।उहाँले हालको अवस्थामा मजदुरहरु सन्तुष्ट नरहेको जनाउँदै, उद्योगी तथा पुँजीपतिहरुको व्यवहारमा अझै पनि परिवर्तन आउन बाँकी रहेको धारणा राख्नुभयो ।कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख तथा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य राजन पौडेलले स्थानीय तहलाई केवल मजदुर अभिलेखीकरणको अधिकार भए पनि श्रम र पारिश्रमिकसम्बन्धी अधिकार संघ सरकारसंग मात्र रहेको स्पष्ट पार्नुभयो।
उहाँले सामाजिक सुरक्षा कोषमा मजदुरहरुलाई सहभागी गराउने अभियानमा मजदुर नेताहरुको साथमा काम भइरहेको बताउनुभयो। स्वास्थ्य बीमामा मजदुरहरुलाई समेट्न सरकारलाई दबाब दिन नेताहरु अघि सर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।त्यस्तै, अखिल नेपाल ट्रेड युनियन महासंघका सचिव अर्जुन चिमरियाले मजदुरले प्राप्त गरेका अधिकार संरक्षण गर्दै राजनितिक अधिकारका लागि पनि लड्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
कार्यक्रमका अर्का वक्ता, नेकपा माओवादी केन्द्र जीतपुरसिमरा नगर समिति अध्यक्ष प्रेम बरालले मजदुरहरुले आफ्नो अधिकार प्राप्तिका लागि हस्तक्षेपकारी भूमिकामा जानुपर्ने बताए। उहाँले मजदुर समाज र विकास निर्माणका मात्र नभई विचार निर्माणका पनि ‘आर्किटेक्ट’ भएको उल्लेख गर्नुभयो।कार्यक्रममा मजदुर अधिकार, सामाजिक सुरक्षा, बीमा तथा राजनीतिक सहभागिता सम्बन्धी विविध विषयमा छलफल तथा सुझाव प्रस्तुत गरिएको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघ, मधेश प्रदेश समितिका अध्यक्ष केदार देवको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल औधोगिक मजदुर संघका अध्यक्ष बेनि तिमल्सिना , नेकपा माओवादि केन्द्रका केन्द्रिय सदस्य सोनालाल साह , मजदुर नेता मिन प्रसाद अपागाँई लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासंघ, मधेश प्रदेश समिति कृष्ण प्रसाद पुडासैनीले गरेका थिए ।