रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको वडाबाट नै भू–सेवा केन्द्रको भूमिसम्बन्धी सेवा सञ्चालन सुरु गरिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, बबरमहल, काठमाडौंबाट जारी ‘भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६’ र विभागबाट विकसित गरिएको प्रणाली अनुसार अब उपमहानगरपालिकामै आधुनिक भू–सेवा सुविधा उपलब्ध गराइएको हो ।
यस प्रणालीमार्फत अब सेवा ग्राहीहरूले सिमरा मालपोत कार्यालय जाने झन्झट बिना नै उपमहानगरपालिकाबाटै लिखत पारितलगायत अन्य महत्वपूर्ण कामहरु सजिलै गर्न सक्ने नगर प्रमुख राजन पौडेलले जानकारी दिए । भू–सेवा केन्द्रको सेवा सहज र प्रभावकारी बनाउँदै, वडा कार्यालयहरुमार्फत सेवा विस्तार गरिने जानकारी पनि उपमहानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँईको हस्ताक्षर रहेको सूचनामा, सबै नागरिकहरुलाई आफ्ना क्षेत्र वा वडा कार्यालयबाटै भू–सेवाको सुविधा लिन सकिने उल्लेख गरिएको छ । यसले सेवाग्राहीको समय, खर्च र श्रम बचत गर्दै पारदर्शी तथा प्राविधिक सेवा प्रवाहमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।भू–सेवा केन्द्र सञ्चालनको यो कदमले स्थानीय तहमा जनउत्तरदायी र प्रविधिमैत्री सेवा प्रवाहको नयाँ युगको सुरुवात गरेको जनाइएको छ ।