रञ्जन यादब /बारा
बाराको पथलैयामा बन डढेलो नियन्त्रण सम्बन्धी फिल्ड डेमो सहितको तालिम सम्पन्न भएको छ। रेड कार्यान्वयन केन्द्र, बबरमहल काठमाडौंको सहकार्यमा डिभिजन बन कार्यालय बाराले तालिमको आयोजना गरेको हो।तालिमका क्रममा डिभिजन बन कार्यालय बाराका डिभिजन बन अधिकृत राजीव कुमार झाले बारामा भइरहेका बन डढेलोको अवस्थाबारे जानकारी गराउँदै त्यसको न्युनिकरणका लागि अपनाउनुपर्ने उपायबारे सहभागीलाई अवगत गराएका थिए। उनले बन डढेलोको असर र त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सचेत र व्यवस्थित उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।
यसै क्रममा बन अधिकृत संजय चौधरीले बन डढेलो न्यूनीकरणका विधि र व्यवहारिक उपायहरूबारे प्रशिक्षण दिएका थिए। उनले बन डढेलो नियन्त्रणका लागि स्थानीय तहमा रहेका बन उपभोक्ता समूहको सक्रिय भूमिका आवश्यक रहेको बताए।तालिममा सहभागी विभिन्न बन उपभोक्ता समूहलाई बन डढेलो नियन्त्रण सम्बन्धी प्रयोगात्मक अभ्यास समेत गराइएको थियो। कार्यक्रमले सहभागीहरूमा बन संरक्षण र डढेलो नियन्त्रणप्रति जागरुकता थप बढाएको तालिम संयोजक बन अधिकृत बर्षा लामाले बताईन् ।तालिममा बिभिन्न बन उपभोक्ता समुहहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।